पब्लिक डिबेटको प्रस्तावले राजनीति तात्यो, ओली तयार–बालेन अस्वीकार
प्रकाशित मिति
२०८२ माघ ११ गते, आईतवार १०:२४
११ माघ,२०८२ काठमाडौं – निर्वाचनको सरगर्मी बढेसँगै प्रमुख दलका शीर्ष नेताबीच सार्वजनिक बहस (पब्लिक डिबेट) गरिनुपर्ने विषयले राजनीतिक वृत्त तातेको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक बहसमा सहभागी हुन तयार रहेको घोषणा गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भने ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत ओलीले देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै पारदर्शी बहस आवश्यक रहेको बताएका थिए । उनले देशको नेतृत्व गर्न चाहने दलहरूको एजेन्डा, विगतका काम र भविष्यको रोडम्यापबारे आमने–सामने बहस हुनु सकारात्मक हुने धारणा राखेका छन् ।
ओलीले सामाजिक सञ्जालमा फ्रेमिङ गरिएका प्रचार सामग्रीमार्फत वास्तविकता लुकाउने प्रवृत्ति बढेको भन्दै यस्तो पब्लिक डिबेटले मतदातालाई स्पष्ट धारणा बनाउन सहयोग पुग्ने बताए । उनले प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिएका सबै पक्षलाई एउटै मञ्चमा ल्याउन आयोजकहरूलाई आग्रहसमेत गरेका छन् ।
तर ओलीको उक्त प्रस्ताव सार्वजनिक भएलगत्तै बालेन शाहले सामाजिक सञ्जालमै प्रतिक्रिया जनाउँदै बहसमा सहभागी नहुने स्पष्ट पारे । उनले ओलीको अभिव्यक्तिप्रति कडा टिप्पणी गर्दै आफू ‘हत्याराको मतियारसँग एउटै मञ्चमा उभिन नसक्ने’ बताएका छन् ।
बालेनले ७६ जना बालबालिकाको हत्यासँग सम्बन्धित आरोप उठाउँदै यस्तो व्यक्तिसँग बहस गर्नु आफैं त्यसमा सामेल भएको अर्थ लाग्ने टिप्पणी गरेका छन् । उनले ओलीलाई ‘आतङ्कवाद स्वीकार्न’ चुनौतीसमेत दिएका छन् ।
पब्लिक डिबेटको प्रस्ताव र त्यसमा आएको तीव्र प्रतिक्रियाले चुनावी राजनीति अझै तातेको देखिएको छ ।







प्रतिकृया