पश्चिमी वायूको प्रभाव कायमै, पहाड–हिमालमा वर्षा/हिमपात र तराईमा हुस्सु
प्रकाशित मिति
२०८२ पुष २० गते, आईतवार ०९:०९
२० पुस,२०८२ काठमाडौं — जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको प्रभाव कायमै रहेको जानकारी दिएको छ । हाल पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लागेको छ ।
विभागका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै तराई भू–भागमा हुस्सु–कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएको छ ।

आज दिउँसो र राति तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो रहने विभागले जनाएको छ । कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

विभागले सम्भावित प्रभावलाई ध्यानमा राख्दै दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।




प्रतिकृया