बुद्ध एयरको जहाज दुर्घटना : चालक दलका सदस्यसहित सात जना घाइते
प्रकाशित मिति
२०८२ पुष १९ गते, शनिबार ०८:५९
१९ पुस,२०८२ काठमाडौं — भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे अवतरणका क्रममा बुद्ध एयरको एटीआर–७२ जहाज दुर्घटनामा परेको छ । दुर्घटनामा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको जहाज अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए । दुर्घटनामा को–पाइलट सुशान्त श्रेष्ठसहित सात जना घाइते भएका हुन् । घाइतेमध्ये को–पाइलटको उपचार जारी रहेको छ भने अन्य छ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको कमान्डमा खटिएको प्रहरी टोलीले सबै यात्रुको सकुशल उद्धार गरेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिकृया