• ४ साउन २०८३, सोमबार
  • ७:१६ बेलुका

विदेशस्थित नेपालीलाई मतदान अधिकारबारे छलफल निष्कर्षविहीन, मन्त्री पुनको कडा असन्तोष

प्रकाशित मिति

२०८२ पुष ८ गते, मंगलवार १०:२६

८ पुस,२०८२ काठमाडौं— काठमाडौँमा राजनीतिक दल, नागरिक समाज, नेपाल सरकार र निर्वाचन आयोगबीच भएको करिब ६ घण्टा लामो घनिभूत छलफल निष्कर्षविहीन रूपमा टुङ्गिएको छ। विदेशमा बसोबास गरिरहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा कुनै ठोस निर्णय हुन नसकेपछि शिक्षा मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत कडा असन्तोष व्यक्त गरेका छन्।

मन्त्री पुनका अनुसार लामो समयसम्म चलेको बैठकमा समस्याको समाधान खोज्नुको साटो नेता र नागरिक समाजका अगुवाहरूले भाषणबाजी मात्र गरे र ६ महिने सरकारको कमजोरी औँल्याउँदै समय खेर फाले। उनले देशका प्रमुख राजनीतिक शक्ति, दल, सरकार र नागरिक समाज कुनै पनि समस्याको निकासका लागि सृजनशील तथा ठोस राय दिन असफल भएकोप्रति चिन्ता व्यक्त गरेका छन्।

Kamana Sewa

वर्तमान राजनीतिक नेतृत्व, दल र नागरिक समाजले देशलाई दुर्घटनातर्फ धकेलिरहेको उल्लेख गर्दै मन्त्री पुनले अबको नेतृत्व युवा पुस्ताले सम्हाल्नुपर्ने धारणा राखेका छन्। देशलाई सङ्कटबाट बचाउन र वास्तविक परिवर्तन ल्याउन आगामी निर्वाचनमा युवाहरू ज्यान फालेर लाग्नुपर्ने उनको भनाइ छ।

Classic Tech Desktop

काठमाडौँका सडकमा जुलुस निकालेर मात्र परिवर्तन सम्भव नहुने उल्लेख गर्दै उनले युवाहरूलाई चुनावी मैदानमै उत्रिएर नेतृत्व लिन आह्वान गरेका छन्। विदेशमा रहेका लाखौँ नेपालीको भावना र अधिकारलाई बेवास्ता गर्दै राजनीतिक नेतृत्वले सत्ता र शक्तिको तानातानमै समय बिताएको आरोप लगाउँदै मन्त्री पुनले यस्तो प्रवृत्तिले मुलुकलाई गम्भीर रूपमा डुबाउने चेतावनी दिएका छन्।

प्रतिकृया