काँकरभिट्टाबाट आयात बढ्यो, निर्यात घट्यो
प्रकाशित मिति
२०८२ पुष ८ गते, मंगलवार ०९:४५
८ पुस,२०८२ काठमाडौं— चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख रुपैयाँ मूल्यबराबरका वस्तु आयात भएका छन्। मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार यो रकम गत आर्थिक वर्ष २०८१–८२ को सोही अवधिको तुलनामा १ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ अर्थात् ७.५७ प्रतिशतले बढी हो। गत आवको पहिलो पाँच महिनामा १८ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका थिए।
यद्यपि चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा यस नाकाबाट हुने निर्यात भने घटेको छ। उक्त अवधिमा १० अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरका वस्तु विभिन्न मुलुकमा निर्यात भएका छन्। गत आवको सोही अवधिमा ११ अर्ब ४७ करोड ९३ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो, जसअनुसार निर्यात ६.६५ प्रतिशतले घटेको छ।
पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनियर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पाता लगायत छन्। आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन तथा तिनका पाटपुर्जा, सिमेन्ट क्लिङ्कर, शृङ्गार सामग्री, कफी, प्लास्टिकका कच्चा पदार्थ, जुत्ता–चप्पल र खनिज उत्पादन प्रमुख रहेका छन्।
मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्म आयात–निर्यात कारोबारबाट ६ अर्ब ८२ करोड २ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।








प्रतिकृया