एडीबीबाट सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणका लागि नेपाललाई १० करोड डलर ऋण
प्रकाशित मिति
२०८२ पुष २ गते, बुधबार ०२:५३
२ पुष,२०८२ काठमाडौं— एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर (करिब १४ अर्ब ५९ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ। यससम्बन्धी ऋण सम्झौतामा आज अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ।
अर्थ मन्त्रालयका अनुसार यो सहायता नीतिमा आधारित ऋण का रूपमा उपलब्ध गराइएको हो। ऋणको ग्रेस अवधि ८ वर्ष र भुक्तानी अवधि २४ वर्ष रहनेछ। सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहने ऋणमा सो अवधिसम्म १ प्रतिशत ब्याजदर लागू हुने र त्यसपछि १.५ प्रतिशत ब्याजदर रहनेछ।
सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका निर्देशक आनो कुश्वा ले हस्ताक्षर गरेका छन्। कार्यक्रममा सहसचिव डा. धनीराम शर्मा ले यो कार्यक्रमले खर्च तथा वित्तीय व्यवस्थापन र अन्तरसरकारी स्रोत व्यवस्थापन सुधार गर्ने उद्देश्य राखेको बताए।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेय का अनुसार यस कार्यक्रमले वित्तीय अनुशासन कायम राख्न, बजेट निर्माण तथा खर्च व्यवस्थापन सुधार गर्न, स्थानीय सरकारलाई सबलीकरण गर्न र विकास परिणामलाई नतिजामुखी बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।







प्रतिकृया