• २० असोज २०८३, मंगलबार
  • १०ः३३ बिहान

एमाले महाधिवेशन सकिएपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार

प्रकाशित मिति

२०८२ मंसिर २८ गते, आईतवार ०१:०७

मंसिर २८,२०८२ काठमाडौं—  मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेका छन्। शपथ ग्रहणका क्रममा तत्काल विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने बताए पनि अहिलेसम्म आवश्यक गृहकार्य पूरा हुन सकेको छैन।

National Life

एक प्रदेश सांसदका अनुसार मन्त्रालय बाँडफाँडसहितको गृहकार्य आज साँझसम्म टुंग्याउने तयारी भइरहेको छ। तर, एमालेको ११औँ महाधिवेशन सकिएपछि मात्र मन्त्रिपरिषद् विस्तार र मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अघि बढ्नेछ।

मुख्यमन्त्री यादव मसिर २३ गते कांग्रेसका शीर्ष नेतासँग काठमाडौँमा भेटवार्ता गर्न आएका थिए। त्यसपछि मसिर २४ गते सातदलीय सत्ता गठबन्धनको बैठक बोलाइएको थियो, तर मुख्यमन्त्री जनकपुर फर्कन नसकेपछि बैठक स्थगित भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली कांग्रेसका यादव मंसिर १९ गते एमालेबाहेकको सातदलीय गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्। उनले मंसिर २१ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरिसकेका छन्। विश्वासको मत लिन शपथ ग्रहणका क्रममा तयारी गरिएको भए पनि, मन्त्रालय बाँडफाँडमा दलहरूबीच सहमति नजुट्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। विशेषगरी जसपा र माओवादी केन्द्रले भौतिक पूर्वाधार मन्त्रालय दाबी गरेपछि सहमति हुन सकेको छैन।

हाल मन्त्रिपरिषद्मा कांग्रेसका जंगीलाल राय, जनमत पार्टीका महेश यादव र नेकपा एकीकृत समाजवादीका कनिश पटेल सदस्य छन्। राय र पटेलले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका छन् भने महेश यादवलाई प्रदेशको अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसैबीच, सत्तारुढ दलहरूबीच मधेश प्रदेश सभाको सभामुख चयनमा समेत सहमति हुन बाँकी छ। एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डल महाअभियोगबाट बर्खास्त भएपछि पद रिक्त भएको छ। जसपा र माओवादी केन्द्रले सभामुख पदका लागि दाबी गर्दै आएका छन् र यस विषयमा सहमति जुट्न बाँकी छ।

प्रतिकृया