नेवार समुदायले आज धान्यपूर्णिमा (यःमरी पुन्ही) परम्परागत विधि र उल्लाससहित मनाउँदै
प्रकाशित मिति
२०८२ मंसिर १८ गते, बिहीबार १०:०६
मंसिर १८, २०८२ काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नेवार समुदायले नयाँ धान भित्र्याएको खुसीयालीसहित यःमरी पूर्णिमा – यःमरी पुन्ही – धुमधामले मनाइरहेका छन्। नेपाल भाषामा ‘यः’ को अर्थ मनपर्ने, ‘मरी’ रोटी र ‘पुन्ही’ पूर्णिमा भएकाले यो पर्वलाई मनपर्ने रोटीको पूर्णिमा नामले पनि चिनिन्छ।
धन्यपूर्णिमाका रूपमा पनि मनाइने यो चाडमा नयाँ धानको विधिपूर्वक पूजा, धान्य दान तथा अन्नप्राशनजस्ता परम्पराहरू समावेश हुन्छन्। आजको दिन नयाँ धानबाट चामल पिँधेर, त्यसमा चाकु, तिल, खुवा, मास वा गुदपाक मिसाइएका मीठा यःमरी बनाइने चलन छ।

बिहानै स्नान गरी लिपपोत लागेको घरमा यःमरी पकाउने परम्परा छ। संस्कृतिविदहरूका अनुसार यो पर्व नेवार समुदायका लागि नवअन्नप्राशन चाडका रूपमा पनि मानिन्छ।

आज धान, गणेश, कूलदेवता, गैडुदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मी लगायतका देवताको पूजा गरिन्छ। घरमा भित्र्याइएको धानलाई केही दिन सुकाएर पूजा गरेपछि मात्र भकारीमा राख्ने प्रचलन रहेको छ। नयाँ धान वर्षभरिका लागि पर्याप्त होस् भनी धानलाई ‘अन्नपूर्ण’को रूपमा पूजा गरिन्छ।
यःमरीलाई कुवेर र गणेशका प्रतीक मानिँदै आएको छ। महिलाले चामलको पिठो मुछेर बनाउने यःमरीको माथिल्लो भाग गजुरजस्तै बनाइन्छ र भित्रि भागमा विभिन्न मिठासा सामग्री राखिन्छ। मायोँ (केटी) र वायोँ (केटा) बनाएर धानको पूजा गर्ने परम्परा महिला–पुरुष दुवैको भूमिकालाई समान रूपमा सम्मान गर्ने संस्कृतिको प्रतीक मानिन्छ।
परम्पराअनुसार तयार पारिएका यःमरी चार, छ वा बाह्र दिनसम्म धानको भकारीमा अर्पण गरिन्छ र छोरीचेली तथा आफन्तलाई बोलाई भोज खुवाइन्छ। एक समय लोकप्रिय रहेको मल्लकालीन प्रचलन ‘त्यःछिं त्यः बकछिं त्यः’—जसमा युवायुवतीले गीत गाउँदै घरघरमा यःमरी, धान, चामल वा दान माग्ने—अहिले भने लोपोन्मुख अवस्थामा पुगेको छ।
किंवदन्तीअनुसार, पनौती क्षेत्रका दानी महर्जन दम्पती सुचन्द्र र उनकी पत्नीको घरमा गरिब ब्राह्मणको भेषमा पुगेका कुवेरलाई यःमरी खुवाइएको थियो। प्रसन्न कुवेरले आफ्नो वास्तविक रूप देखाई यःमरी पूजाको महत्व र पूजा विधि सम्झाइदिएपछि उनीहरूको घरमा धन–सम्पत्ति वृद्धि भएको मान्यता छ। सोही क्षणदेखि यःमरी पुन्ही मनाउने प्रचलन सुरु भएको बताइन्छ।
नेवार समुदायले आजको दिनलाई समृद्धि, स्वास्थ्य, अन्नको संरक्षण र देव–पितृप्रति कृतज्ञताको पर्वका रूपमा मनाइरहेका छन्।




प्रतिकृया