लोमसको ‘सेटोफेन’ प्यारासिटामोल गुणस्तरहीन
प्रकाशित मिति
२०८२ मंसिर १२ गते, शुक्रबार ०१:२८
मंसिर १२, २०८२ काठमाडौं – औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको सेटोफेन (प्यारासिटामोल) ट्याब्लेट, ब्याच नं. CT 2723 तत्काल बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ। राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त ब्याच न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ।
विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम सो ब्याचको बिक्री–वितरण रोक्का गर्दै कम्पनीलाई बजारबाट फिर्ता लिन आधिकारिक निर्देशन जारी गरेको छ।

सम्बन्धित ब्याच जुन २०२३ मा उत्पादन भएको र मे २०२६ मा म्याद सकिने उल्लेख छ। करिब अढाई वर्षदेखि बजारमा खुलेआम बिक्री हुँदै आएको तर परीक्षणमा पास नहुदाँ उपभोक्ताका लागि गम्भीर जोखिम उत्पन्न भएको विभागले जनाएको छ।

औषधि ऐनको दफा १२ अनुसार बजारमा वितरण हुने सबै औषधि सुरक्षित, प्रभावकारी र गुणस्तरीय हुनुपर्ने कानुनी व्यवस्था छ। तर परीक्षण प्रक्रियामा ढिलाइ हुँदा गुणस्तरहीन औषधि लामो समय बजारमा रहने समस्या दोहोरिँदै आएको छ।
स्वास्थ्य विज्ञाहरूले परीक्षण प्रणाली अझै प्रभावकारी र छिटो बनाउनुपर्ने आवश्यकता दोहोर्याउँदै आएको बताउँदै उपभोक्ताको स्वास्थ्यमा पर्ने जोखिमबारे चेतावनी दिएका छन्। विभागले अघिल्ला वर्षहरूमा पनि विभिन्न कम्पनीका दर्जनौँ ब्याच गुणस्तरहीन ठहरिएपछि बजारबाट रिकल गरिसकेको छ।




प्रतिकृया