राष्ट्र बैंकद्वारा २ अर्ब ६० करोड मुद्दति निक्षेप लगानी गर्ने निर्णय
प्रकाशित मिति
२०८२ कार्तिक १७ गते, सोमबार १२:२३
कात्तिक १७, २०८२ काठमाडौं— नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा २ अर्ब ६० करोड रुपैयाँ मुद्दति निक्षेपका रूपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार उक्त लगानी ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीहरूमा गरिनेछ।
राष्ट्र बैंकले जनाएको अनुसार वाणिज्य बैंकमा २ अर्ब ८ करोड, विकास बैंकमा ३९ करोड र वित्त कम्पनीमा १३ करोड रुपैयाँ लगानी गरिनेछ। उक्त रकम २०२५ नोभेम्बर ९ देखि २०२६ नोभेम्बर ९ सम्म ३६६ दिनका लागि मुद्दति निक्षेपमा रहनेछ।
लगानीका लागि तोकिएका बैंक तथा वित्तीय संस्थाले केही सर्तहरू पूरा गर्नुपर्नेछ। तीमध्ये सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, न्यूनतम पुँजीकोष कायम गरेको, निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम रहेको, कर्जा–निक्षेप अनुपात तोकिएको सीमाभित्र भएको र खुद मुनाफा गरेको हुनुपर्ने मुख्य सर्तहरू रहेका छन्।
त्यसैगरी, जरिवाना वा सुधारात्मक कारबाहीमा परेको संस्था भए पनि फुकुवा भएर कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा नभएको र सर्वसाधारणका लागि शेयर जारी गरिसकेको हुनुपर्ने पनि केन्द्रीय बैंकको शर्तमा उल्लेख छ।
राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर प्रस्ताव पठाउन आह्वान गरेको छ।








प्रतिकृया