योगेश भट्टराईद्वारा अध्यक्ष ओलीको आह्वानको स्वागत, ‘एमाले वाम एकताको साझा केन्द्र हो’
प्रकाशित मिति
२०८२ कार्तिक १५ गते, शनिबार ०९:५५
कात्तिक १५, २०८२ काठमाडौं— नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेका नेता–कार्यकर्तालाई फर्किन गरेको आह्वानलाई स्वागत गरेका छन्। उनले अध्यक्ष ओलीको यो कदमलाई समयानुकूल र आवश्यक पहलको रूपमा व्याख्या गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले लेखेका छन्, “नेकपा एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुनः यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्षले गर्नु भएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ।”
भट्टराईका अनुसार, अहिलेको राष्ट्रिय आवश्यकता भनेको जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा वाम आन्दोलनलाई एकताबद्ध बनाउनु हो।
उनले भनेका छन्, “शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धात्मक माध्यमबाट समाजको प्रगतिशील रूपान्तरणमा विश्वास गर्नेहरूको साझा केन्द्र एमाले हुनुपर्छ। कमरेडहरू, आउनुहोस्, यिनै मान्यतामा हातेमालो गरौँ।”
सचिव भट्टराईले अब निषेध, प्रतिशोध र घृणा त्यागेर सहकार्य र सहअस्तित्वमार्फत एमालेलाई सुदृढ र एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्।






प्रतिकृया