• ३१ भदौ २०८३, बुधबार
  • ८ः०८ राती

हरिबोधिनी एकादशी आज : भगवान् विष्णु र तुलसी विवाह गरी भक्तिपूर्वक मनाइँदै

प्रकाशित मिति

२०८२ कार्तिक १५ गते, शनिबार ०९:२०

कात्तिक  १५, २०८२ काठमाडौं— वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज हरिबोधिनी एकादशी पर्व श्रद्धा र भक्तिसहित मनाइरहेका छन् । कात्तिक शुक्ल एकादशीका दिन मनाइने यस पर्वमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसी र दामोदर (विष्णु) को विवाह गरी पूजा-अर्चना गरिन्छ ।

National Life

हरिशयनी एकादशीका दिनदेखि क्षीरसागरमा विश्राम लिनुभएका भगवान् विष्णु आज जाग्रत हुने भएकाले यस दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। यससँगै चार महिनासम्म निषेध गरिएका माङ्गलिक कार्यहरू (विवाह, व्रतबन्ध आदि) आजदेखि शुभ मानिन्छन्।

धार्मिक परम्परा अनुसार, आसार शुक्ल एकादशी (हरिशयनी) देखि कात्तिक शुक्ल एकादशी (हरिबोधिनी) सम्म विष्णुका भक्तहरूले तुलसीको व्रत राखी विशेष पूजा गर्दछन्। आजका दिन तुलसीको मठलाई गाईको गोबर र रातो माटोले पोतेर फूलमालाले सजाइन्छ र दामोदरसँग विवाह गरिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, “कात्तिक महिनाभर तुलसीमा सबै देवदेवीको निवास हुने शास्त्रीय मान्यता छ। हरिबोधिनी एकादशीको दिन तुलसीको उद्यापन अग्निस्थापनासहित विशेष हवन गरी गरिन्छ।”

तुलसीको वैज्ञानिक महत्त्व पनि उल्लेखनीय छ। यसको सुगन्धले वातावरण शुद्ध बनाउँछ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र विषालु जीवजन्तु टाढा राख्छ। तुलसीबाट बनेको चिया र यसको पातको रस स्वास्थ्यका लागि लाभदायक मानिन्छ।आजका दिन अन्न ग्रहण नगरी फलाहार मात्र गरिन्छ। सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर खाने चलन छ। यस व्रतले हजार अश्वमेध र राजसूय यज्ञ बराबरको फल प्राप्त हुने विश्वास शास्त्रमा उल्लेख छ।

हरिबोधिनी एकादशीको अवसरमा काठमाडौं उपत्यकाका चार नारायण – चाँगुनारायण, शेषनारायण, विशङ्खुनारायण र इचङ्गुनारायण – मा आज विशेष मेला लागेको छ। त्यस्तै बूढानीलकण्ठ नारायणस्थानमा दर्शन गरेमा चारै नारायणको दर्शन बराबर फल मिल्ने जनविश्वास छ।
ललितपुरको नारायणहिटीस्थित नारायणस्थान र धादिङको नीलकण्ठ नगरपालिका–४ को ऐतिहासिक कालिका मन्दिरमा पनि आज विशेष मेला लागेको स्थानीयहरूले बताएका छन्।

हरिबोधिनी एकादशीलाई “ठूलो एकादशी” पनि भनिन्छ, र यस दिन गरिएको स्नान, दान, जप र होमले सयौं जन्मका पाप नाश हुने विश्वास हिन्दू धर्मग्रन्थहरूमा उल्लेख छ।

प्रतिकृया