पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता
प्रकाशित मिति
२०८२ कार्तिक ११ गते, मंगलवार ०८:०४
कात्तिक ११, २०८२ काठमाडौं— सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता गरेको छ। गृहमन्त्रालयले पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपालले पाउँदै आएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरू फिर्ता गर्न निर्देशन दिएपछि उनीहरूलाई फिर्ता बोलाइएको हो।
स्रोतका अनुसार एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएपछि यस्तो निर्णय गरिएको हो।नेपालका लागि हालसम्म सशस्त्र प्रहरीका १६ जना र नेपाल प्रहरीका २ जना गरी १८ जना सुरक्षाकर्मी परिचालित थिए।
पतञ्जलि योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले उक्त मुद्दामा करिब १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।
गत असार ११ गते विशेष अदालतले थुनछेक बहसपछि नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। गृहमन्त्रालयका अनुसार भ्रष्टाचारको मुद्दा अदालतमा रहेकाले नेपाललाई पूर्वप्रधानमन्त्रीको हैसियतमा दिइँदै आएको सुरक्षासुविधा फिर्ता गरिएको हो।








प्रतिकृया