भिमफेदी कारागारबाट फरार कैदी नारायण कुमालको गैँडाकोटमा हत्या
प्रकाशित मिति
२०८२ कार्तिक ८ गते, शनिबार ०१:४४
कात्तिक ८, २०८२ काठमाडौं — मकवानपुरको भिमफेदी कारागारबाट फरार भएका एक कैदीको पूर्वी नवलपरासीको गैँडाकोटमा हत्या गरिएको छ। हत्या भएका व्यक्ति २८ वर्षीय नारायण कुमाल हुन्, जो चितवनको कालिका नगरपालिका–४ पदमपुरका स्थानीय हुन्।
पूर्वी नवलपरासीका प्रमुख जिल्ला प्रहरी अधिकारी (एसपी) युवराज खड्काका अनुसार, कुमालको गैँडाकोट नगरपालिकास्थित इँट्टाभट्टा नजिकै शुक्रबार राति धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो। ५–८ जना मिलेर कुमालमाथि आक्रमण भएको देखिएको एसपी खड्काले बताए । “हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।”
प्रहरीका अनुसार, कुमाल बलात्कार कसुरमा दोषी ठहर भएका थिए। अदालतले उनलाई १० वर्ष कैद र ३५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
उनी यसअघि भदौ २४ गते भिमफेदी कारागारबाट फरार भएका थिए। कुमाललाई २०७४ साउन ३ गते प्रहरीले पक्राउ गरेको थियो।






प्रतिकृया