• ३१ भदौ २०८३, बुधबार
  • १०ः१९ राती

मिथिला क्षेत्रमा छठ पर्वको रौनक, घाट र बजारमा चहलपहल

प्रकाशित मिति

२०८२ कार्तिक ७ गते, शुक्रबार १२:१२

कात्तिक ७, २०८२ काठमाडौं— सूर्य उपासनाको महापर्व छठ प्रारम्भसँगै मिथिला क्षेत्रमा उल्लास र भक्ति–भावनाको माहोल छाएको छ। परम्परागत रूपमा विधिपूर्वक सुरू गरिने यो पर्वको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन्।

National Life

पर्वको आरम्भमा बर्तालुले ‘नहाय–खाय’ विधिबाट व्रत सुरू गर्छन्। यसअघि कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबा–अरबाइन’ विधि गरेर माछामासु, तामसी र राजसी भोजन परित्याग गरी निरामिष भोजनको थालनी गरिएको थियो। आज कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्पसहित चोखोनीतो खाने छन्, जसलाई ‘नहाय–खाय’ भनिन्छ।

छठ पर्वमा श्रद्धा, निष्ठा र आत्मिक शुद्धीलाई विशेष महत्व दिइन्छ। यस अवसरमा मिथिलाका नदी, तलाउ र पोखरी परिसरहरू बेहुलीझैँ सजिएका छन्। स्थानीयहरूले सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाउने गीत गाउँदै घाट तयारीमा व्यस्त छन्।

Classic Tech Mobile
Classic Tech Desktop

पर्वका अवसरमा ठकुवा, भुसुवा (कसार) लगायतका परिकार बनाउने परम्परा छ। यी परिकार ढिकी–जाँतोमा कुटिएको चामल र गहुँको पिठोबाट पकाइने गरिन्छ। यसका लागि नयाँ माटोको चुल्हो प्रयोग गरिन्छ।

छठका लागि आवश्यक वस्तुमा उखु, अदुवा, बेसार, ज्यामिर, बिमिरो र पातगुवो (फुर्को) अनिवार्य रूपमा राखिन्छ। यी सामग्रीको माग बढेसँगै स्थानीय बजारमा चहलपहल बढेको छ।

षष्ठी तिथिका साँझ व्रतालुले निराहार बसेर अस्ताउँदो सूर्यलाई जलाशयमा पुगेर अर्घ दिन्छन्। यो विधिलाई ‘सझुका अरख’ भनिन्छ। त्यसपछि सप्तमीका बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गरिन्छ। मिथिलामा यसलाई ‘भोरका अरख’ वा ‘उदयाघाट’ पनि भनिन्छ।

घाटहरूमा रातभरि गीत, संगीत र नाटक प्रस्तुत गरिने परम्परा अझै जीवित छ। व्रतालुहरूले सूर्योदय हुनुअघि नै पानीमा चोबिएर गीतको भाखामा सूर्यलाई चाँडै उदाउन पुकार्ने चलन छ।

छठ केवल मिथिलामा सीमित नरही अहिले देशभरका नेपालीको साझा पर्व बन्दै गएको छ। श्रद्धा, भक्ति र आत्मशुद्धीको प्रतीक यो पर्वले मिथिला क्षेत्र उज्यालो र भव्य बनाएको छ।

प्रतिकृया