अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट, के होला नेपालमा ?
प्रकाशित मिति
२०८२ कार्तिक ७ गते, शुक्रबार ०७:१४
कात्तिक ७, २०८२ भारत— अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ। शुक्रबार स्पट गोल्ड १.५ प्रतिशतले घटेर प्रति औन्स ४ हजार ६३ अमेरिकी डलरमा पुगेको छ। यो साता मात्रै सुनको मूल्य ४.३ प्रतिशतले घटेको हो, जुन नोभेम्बर २०२४ यताकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले कात्तिक ३ गतेदेखि सार्वजनिक बिदा रहेका कारण नयाँ मूल्य निर्धारण गरेको छैन। बिदा अघि प्रतितोला सुनको मूल्य दुई लाख ५३ हजार पाँच सय रुपैयाँ कायम गरिएको थियो।
तर अन्तर्राष्ट्रिय बजारमा आएको तीव्र गिरावटका कारण नेपालमा पनि आइतबार सुनको मूल्य करिब १५ देखि १८ हजार रुपैयाँसम्म घट्ने अनुमान गरिएको छ। बजार स्थिर नभए सुनको अन्तर्राष्ट्रिय मूल्यमा देखिएको उतारचढावको प्रत्यक्ष असर नेपालमा पर्ने व्यवसायीहरू बताउँछन्।
गत मंगलबार विश्व बजारमा सुनको मूल्य एकैदिन ६.३ प्रतिशतले घट्दा यो पछिल्ला १२ वर्षयताकै सबैभन्दा ठूलो दैनिक गिरावटका रूपमा दर्ता भएको थियो। लगातार बढ्दै आएको सुनको मूल्य तिहारको मध्यमा आइपुग्दा ऐतिहासिक रूपमा घटेको हो।
मूल्य घट्नुका कारणहरू
विश्लेषकहरूका अनुसार सुनको मूल्य घट्नका तीन प्रमुख कारण छन्—
१. अमेरिकी डलरमा पुनरुत्थानका संकेत देखिनु,
२. अमेरिका र चीनबीच व्यापारिक तनाव घट्ने सम्भावना, र
३. उच्च मूल्यमा पुगेपछि लगानीकर्ताहरूले मुनाफा सुरक्षित गर्न थालेको प्रवृत्ति।
यसअघि लगातार दुई महिनामा सुनको मूल्य करिब २५ प्रतिशतले बढेको थियो। त्यसैले पछिल्लो गिरावटलाई धेरैले ‘ढिलो आएको तर अपरिहार्य सुधार’को रूपमा व्याख्या गरेका छन्।
अन्य धातु र बजार प्रभाव
सुनसँगै अन्य बहुमूल्य धातुहरूको मूल्य पनि घटेको छ। अमेरिकी ट्रम्प प्रशासनले चीनसँग व्यापार सम्झौता नजिकिएको संकेत दिएको र ब्याजदर वृद्धिको अपेक्षाले सुरक्षित लगानीको माग घटाएको बताइएको छ।
गत केही महिनायता विश्वका केन्द्रीय बैंकहरूले डलरको विकल्पका रूपमा सुन खरिद गर्दै भण्डारण बढाएका थिए। सेप्टेम्बर महिनामा मात्र सुनमा आधारित एक्सचेन्ज–ट्रेडेड फन्ड (ETF) हरूमा २६ अर्ब डलरभन्दा बढी नयाँ लगानी प्रवाह भएको तथ्यांकले देखाएको छ।






प्रतिकृया