कृष्णभीरमा नयाँ ट्र्याक खुलेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
प्रकाशित मिति
२०८३ आश्विन १ गते, बिहीबार ०९:२७
१ असोज २०८३ काठमाडौं — सडक भासिएर काठमाडौँसँगको सडक सञ्जाल टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरिएपछि राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार असोज १ गते बिहीबार बिहान ६ बजेदेखि राजमार्गमा सवारीसाधन दुवैतर्फ सञ्चालन हुन थालेका हुन्।
भदौ १० र १४ गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक भासिएपछि यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको थियो।
सडक डिभिजन कार्यालयले उक्त क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरी सडक सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमद्वारा जारी सूचनामा उल्लेख छ। राजमार्ग सञ्चालनमा आए पनि विभिन्न स्थानमा सडक भासिने, पहिरो जाने तथा ढुंगा–माटो खस्ने जोखिम कायमै रहेकाले चालक तथा यात्रुलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
विशेषगरी वर्षा भइरहेको समयमा वा सडकमा अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न, सडक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीको निर्देशन पालना गर्न र आधिकारिक सूचनाका आधारमा मात्रै यात्रा तय गर्न प्रशासनले अनुरोध गरेको छ।






प्रतिकृया