जोखिमरहित जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृह मन्त्रालयको निर्देशन
प्रकाशित मिति
२०८२ आश्विन २० गते, सोमबार ०६:२०
असोज २०, २०८२ काठमाडौं- गृह मन्त्रालयले विपद् जोखिम नभएका तथा प्रतिकार्यमा संलग्न नभएका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न निर्देशन दिएको छ। देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो। मन्त्रालयको निर्देशनसँगै अब जोखिमरहित जिल्लाहरूमा बैंक, बीमा कम्पनी लगायतका कार्यालयहरू पुनः सञ्चालनमा आउने भएका छन्।
सरकारले यसअघि भारी वर्षा र सम्भावित प्राकृतिक विपद् (जस्तै बाढी र पहिरो) का कारण आज र भोलि दुई दिनका लागि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर, सबै जिल्लामा समान जोखिम नरहेको भन्दै मन्त्रालयले स्थिति अनुसार सेवा संचालन गर्न निर्देशन दिएको हो।

यता, दशैं मनाउन घर गएकाहरू राजमार्गहरू अवरुद्ध हुँदा अझै कार्यस्थल फर्किन सकेका छैनन्। बाढी र पहिरोका कारण यातायात ठप्प हुँदा ठूलो संख्यामा यात्रुहरू बाटोमै अलपत्र परेका छन्। सरकारले नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सेवा प्रवाह र विपद् व्यवस्थापन दुबैलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेको जनाएको छ।





प्रतिकृया