• १ असोज २०८३, बिहीबार
  • ८ः५१ बिहान

शनिबारदेखि भारी वर्षाको सम्भावना : बाढी–पहिरोको जोखिम, राजमार्ग बन्द गर्न विज्ञको सुझाव

प्रकाशित मिति

२०८२ आश्विन १८ गते, शनिबार ०८:३३

असोज १८, २०८२ काठमाडौं- शनिबार दिउँसोदेखि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्हरुले उच्च जोखिममा रहेका राजमार्गहरु बन्द गर्न सुझाव दिएका छन्। सामान्य झरीका समयमा पनि पहिरो र बाढीको जोखिममा पर्ने स्थानहरूमा अब भारी वर्षा हुने अनुमान गरिएको छ।

National Life

विशेषगरी चितवन, मकवानपुर, काठमाडौं, काभ्रे, हेटौंडा, बुटवल, भैरहवा, गोरखा, तनहुँ र जनकपुर क्षेत्रहरूमा शनिबार र आइतबार भारी वर्षा हुने अनुमान गरिएको छ। भारतको उडिसा नजिकै विकसित भएको मौसमी प्रणाली बिहार हुँदै शनिबार बिहानदेखि नेपाल प्रवेश गर्ने पूर्वानुमान गरिएको छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका मौसमविद् डा. विनोद पोखरेलका अनुसार, भारी वर्षाको कारण जोखिममा रहेका राजमार्गहरु – जस्तै नारायणगढ–मुग्लिन–नागढुंगा, हेटौंडा–काठमाडौँ सडकखण्ड, बनेपा–बर्दिबास राजमार्ग – बन्द गर्नु उपयुक्त हुनेछ। “दशैंको समय भएकाले यात्रुहरुको चाप पनि बढी हुने सम्भावना छ, यस्तोमा दुर्घटनाको जोखिम बढ्छ,” उनले भने।

Classic Tech Mobile
Classic Tech Desktop

विपद् व्यवस्थापन विज्ञ डा. धर्मराज उप्रेतीले अति भारी वर्षाका बेला काठमाडौं उपत्यकाभित्रको आवत–जावत पनि नियन्त्रण गर्नुपर्ने सुझाव दिएका छन्। “झरीले होचो ठाउँहरु डुबानमा पर्न सक्छन्,” उनले भने, “खासगरी हनुमन्ते, बागमती, धोबीखोला, नख्खु र विष्णुमती किनारका बासिन्दालाई सजग रहनुपर्छ।”

मौसमविद् रोजन लामिछानेका अनुसार, शनिबार दिउँसोदेखि आइतबार रातिसम्म देशका विभिन्न भागमा पानी पर्नेछ भने आइतबार रातिदेखि भारी वर्षाको असर पूर्वी नेपालतिर सर्नेछ।
कोशी प्रदेशमा आइतबार रातिसम्म भारी वर्षाको सम्भावना रहेको उनले बताए। “कम्तिमा पनि दुई दिन सतर्कता आवश्यक छ,” लामिछानेले भने।

अति भारी वर्षाको पूर्वानुमानसँगै पहिरो, डुबान र सडक बन्दजस्ता सम्भावित जोखिमलाई ध्यानमा राख्दै मौसमविद्हरुले समयमै सतर्कता अपनाउन आग्रह गरेका छन्। स्थानीय प्रशासनले केही मुख्य राजमार्गमा रातिको सवारीमा रोक लगाइसकेको छ भने बाँकी क्षेत्रमा पनि सचेत रहन जनसाधारणलाई अनुरोध गरिएको छ।

प्रतिकृया