• ३१ भदौ २०८३, बुधबार
  • ८ः५३ राती

आज दशैंको सातौं दिन,परम्परागत विधिअनुसार घर–घरमा भित्र्याइँदै

प्रकाशित मिति

२०८२ आश्विन १३ गते, सोमबार ०९:४०

असोज १३, २०८२ काठमाडौं– आज बडादशैं अर्थात् नवरात्रको सातौँ दिन, देशभर पूजा कोठा तथा दशैंघरमा फुलपाती भित्र्याउने वैदिक परम्परा अनुसारको विशेष धार्मिक कार्यक्रम भइरहेको छ। आजको दिनलाई कालरात्रि देवीको पूजा आराधनासँग पनि जोडिएको छ।

National Life

नवरात्रको सातौँ दिन नौ दुर्गामध्येकी कालरात्रि देवीको विधिपूर्वक पूजा गर्ने वैदिक सनातन परम्परा रहेको धार्मिक शास्त्रमा उल्लेख छ। कृष्ण वर्णकी कालरात्रि देवी भयङ्कर आकृतिकी देवी मानिन्छिन्, जसले प्राणीमात्रलाई नष्ट गर्ने काल शक्तिलाई पनि विनाश गर्न सक्ने शक्तिको रूपमा पूजा गरिन्छ।

यस दिन दुर्गा पक्षको सातौँ दिन भएकाले घटस्थापनास्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवत तथा अन्य स्तोत्र पाठ गरिन्छ। धार्मिक विश्वास अनुसार, नवरात्रको समयमा देवीको आराधना गरी पूजा गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने जनविश्वास छ। नवरात्रमा नवमीसम्म पूजा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

देशभरका शक्तिपीठहरू र देवी मन्दिरहरूमा आज बिहानैदेखि पूजा, दर्शन तथा आराधनाका लागि भक्तजनहरूको घुइँचो लागेको छ। राजधानी काठमाडौंका साथै मुख्य शक्तिपीठहरूमा भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।

यसै अवसरमा नेपाली सेनाले टुँडिखेलस्थित सैनिक मञ्चमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गर्दैछ। यो समारोह धर्म, संस्कृति र परम्पराको निरन्तरता दिने मौलिक कार्यक्रमको रूपमा लिइन्छ। सो समारोहमा सैनिक परेड विशेष आकर्षण हुने जनाइएको छ।

आजैको दिन, ऐतिहासिक परम्परा अनुसार गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौंको हनुमानढोका दरबारमा फूलपातीसहितको डोली पठाइँदै छ। यो प्रथा पृथ्वीनारायण शाहले काठमाडौँबाट राजकाज सुरु गरेयता निरन्तर चलिआएको परम्परा हो।

गोरखा दरबारबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म दरबारका सुसारेहरूले डोली बोकेर ल्याउने र त्यसपछि हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने क्रम सांस्कृतिक रूपले महत्वपूर्ण मानिन्छ। यसरी, आजको दिन धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिँदै देशभर विविध कार्यक्रमहरूका साथ फुलपाती पर्व मनाइँदैछ।

प्रतिकृया