• १ असोज २०८३, बिहीबार
  • ५ः५३ बिहान

नवरात्रको छैटौँ दिन आज कात्यायनी भगवतीको पूजाआराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

प्रकाशित मिति

२०८२ आश्विन १२ गते, आईतवार ०८:१५

असोज १२, २०८२ काठमाडौं– नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आइतबार देवी कात्यायनीको विशेष पूजा–अर्चना गरी मनाइँदैछ। साहस र शक्तिको प्रतीक मानिने कात्यायनी देवीको आराधनाले रोग, शोक, भय, दुःख र दरिद्रताको नाश गरी प्रगतिको मार्गमा अघि बढ्न सकिने धार्मिक विश्वास छ।

National Life

शास्त्रीय मान्यताअनुसार, आजको दिन दियो, कलश, गणेश र कात्यायनी देवीको विशेष पूजा गर्नुपर्छ। यज्ञ, दान तथा अन्य पुण्यकर्म गर्दा आसुरी प्रवृतिको बाधा निवारण गर्न देवी कात्यायनीले पृथ्वीमा अवतरण गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

कात्यायनी देवी प्रसिद्ध ऋषि कात्यायनको आश्रममा उत्पत्ति भएकी थिइन्। उनी कात्यायन ऋषिकी पुत्रीका रूपमा लोकमा ‘कात्यायनी’ नामले प्रख्यात भएकी हुन्। देवीभागवत लगायतका ग्रन्थहरूमा वर्णन गरिएको छ कि उनले अतिशक्तिशाली सिंहमा सवार भई दानवको वध गरेकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

उनी सुन्तला रङको वदनयुक्त, हातमा चम्किलो चन्द्रहास खड्ग धारण गरेकी छन्। धार्मिक मान्यताअनुसार, कात्यायनी देवीलाई गुलिया परिकार अत्यन्तै प्रिय हुने भएकाले मिष्ठान्न अर्पण गरिन्छ। दशैँको पहिलो दिन घटस्थापनासँगै सुरु हुने नवरात्रमा नवदुर्गाका नौ रूपहरू—शैलपुत्री, ब्रह्माचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्र्री, महागौरी र सिद्धिदात्रीको क्रमशः पूजाआजा गरिन्छ।

नवरात्रको अवसरमा काठमाडौं उपत्यकाका प्रमुख शक्तिपीठहरू—गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकाली लगायत देशभरका मन्दिरहरूमा भक्तजनको भीड लागेको छ। भक्तजनहरू बिहानैदेखि पूजा, दर्शन र आराधनामा सहभागी भएका छन्।

प्रतिकृया