• ३१ भदौ २०८३, बुधबार
  • १०ः१७ राती

ओलीको प्रश्न: के ठानेको ? हाहुको सरकारलाई देश छोडेर भाग्छौं ?

प्रकाशित मिति

२०८२ आश्विन ११ गते, शनिबार ०२:११

असोज ११, २०८२ काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पासपोर्ट रोक्का गर्ने तयारी गरेको भन्दै तीव्र आपत्ति जनाएका छन्। शनिबार भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले यस्तो तयारी हास्यास्पद भएको टिप्पणी गरे। ओलीले सरकारप्रति कटाक्ष गर्दै भने, “सरकार हल्ला गरिरहेको छ — पासपोर्ट रोक्ने! के ठानेको छ? यो हाहुको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं?”

National Life

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले देश बनाउने जिम्मा अझैपनि आफ्नो नेतृत्वको दल, नेकपा एमालेकै रहेको दाबी गरे। उनले भने, “हामीले यो देश बनाउनुपर्नेछ। फेरि पनि हामी यो देशलाई संवैधानिक, लोकतान्त्रिक मूल धारमा ल्याउँछौं।”

चियापान कार्यक्रममा ओलीले पछिल्लो समय आफूविरुद्ध आक्रामक रूपमा प्रस्तुत भइरहेका जेनजी पुस्ताका युवाहरूलाई संयमित हुन आग्रह गरे। उनले भने, “जेनजी घरघरमै छन्। केही भाइबहिनीहरू संगठित हुनुभएको छ, केहीलाई गुमराहमा राखिएको छ।”

Classic Tech Mobile
Classic Tech Desktop

जेनजीहरूले गरेका आगजनी र तोडफोडप्रति चिन्ता व्यक्त गर्दै उनले भने, “यसरी नै होटल, ऐतिहासिक सम्पदा ध्वस्त पार्दै जाने हो भने, खरानीमाथि बसेर सुखी हुन सक्नुहुन्छ?” उनले थपे, “तपाईंहरू भर्खरकै हुनुहुन्छ, धेरै बाँच्नु छ — आवेगमा नआउनुहोस्।”

ओलीले सरकारद्वारा पूर्वप्रधानमन्त्रीका रूपमा आफूलाई दिइएका सुविधा फिर्ता लिने, मुद्दा चलाउने र पासपोर्ट रोक्का गर्नेजस्ता गतिविधिबाट सरकार आफ्ना कर्तव्यबाट विमुख भएको आरोप लगाए। उनले भने, “सरकारले सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, मुद्दा चलाउँछु भनेर बसेको छ। तर सरकारको कर्तव्य के हो?”

उनले सामाजिक सञ्जालमा आफूविरुद्ध देखिएका धम्कीजन्य गतिविधि र निजी निवास लोकेसन सार्वजनिक गरेर घेर्ने आह्वानप्रति सरकार मौन बसेकोप्रति पनि आपत्ति जनाए। “केपी ओलीको घर लोकेट गरेर घेर्न जाऔं भनेर सार्वजनिक रूपमा देखाइएको छ। सरकार के हेरेर बसेको छ?” उनले प्रश्न गरे।

अन्त्यमा ओलीले हालको राजनीतिक संकटप्रति संकेत गर्दै आशावादी सन्देश पनि दिए। उनले भने, “मौसम सधैं एकनास हुँदैन। अहिले झरी, बादल आएको छ, फेरि मुसुक्क हाँस्ने दिन आउँछ।”

प्रतिकृया