ऊर्जामन्त्री घिसिङ र स्विस राजदूत मेउलीबीच भेटवार्ता
प्रकाशित मिति
२०८२ आश्विन ९ गते, बिहीबार ०४:०६
असोज ९, २०८२ काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा राजदूत मेउलीले मन्त्री घिसिङलाई बधाई दिंदै उनको कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरिन्।
भेटमा स्विस सहयोगमा सञ्चालित हालका आयोजनाको कार्यान्वयन अवस्था, दीर्घकालीन तथा अल्पकालीन रुपमा सहयोग विस्तार गर्ने सम्भावना, स्विस लगानी, र द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। मन्त्री घिसिङले जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको प्राथमिकता सार्वजनिक संरचनाको पुनर्निर्माण, चुनाव सम्पन्न गराउनु, सुशासन प्रवर्धन गर्नु र युवामा आशा जगाउनु रहेको बताए।
उनले विद्युतीय सवारी साधन प्रवद्र्धन, घरयासी प्रयोजनमा विद्युत्लाई इन्धनको रुपमा प्रयोग गर्न प्रोत्साहन, स्विट्जरल्याण्डले सडक यातायातमा प्रयोगमा ल्याएको सुरुङ प्रविधिलाई नेपालमा अनुशरण, हरित हाइड्रोजन ऊर्जाको प्रवर्धन, साना उद्योग स्थापनामार्फत रोजगारी सिर्जना गर्न आवश्यक तालिमका लागि सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए । हाल स्विस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम, पुल, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग, रोजगारमूलक सीप विकास तालिमलगायतका कार्यक्रम सञ्चालित छन् ।
राजदूत मेउलीले नेपाल ऊर्जा तथा पूर्वाधार निर्माण क्षेत्रमा सहयोग गर्न स्विस सरकार सँधै तयार रहेको बताएकी थिइन् ।







प्रतिकृया