मुग्लिन–नारायणगढ सडकखण्डमा तुइन खोलानजिकको पहिरो ६० प्रतिशत पन्छाइयो
प्रकाशित मिति
२०८२ आश्विन ९ गते, बिहीबार ०३:५९
असोज ९, २०८२ काठमाडौं– निरन्तर वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिक खसेको ठूलो पहिरोको करिब ६० प्रतिशत भाग पन्छाइएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार कठिन भूगोल र जोखिमका बीच पनि पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेको छ।
कार्यालयका अनुसार नारायणगढतर्फबाट १ एक्साभेटर र १ लोडर तथा मुग्लिनतर्फबाट २ लोडर र १ एक्साभेटर परिचालन गरिएको छ। दुवै दिशाबाट थप १/१ वटा लोडर समेत तयारी अवस्थामा राखिएको छ। तर, काम गर्ने क्षेत्र साँघुरो भएकाले एकपटकमा अधिकतम ५ वटा उपकरणले मात्र काम गर्न सक्ने अवस्था रहेको जानकारी दिइएको छ।
डिभिजनले जनाएअनुसार पहिरो हटाउने क्रममा नारायणगढ साइडमा ठूला ढुंगाहरूका कारण थप कठिनाइ भएको छ। यद्यपि, प्रयोगमा रहेका उपकरणहरू पूर्ण क्षमतामा सञ्चालनमा छन्।
काममा ढिलो हुनुको प्रमुख कारण पहिरोमा ढुंगाको मात्रा बढी हुनु र तिखा ढुंगाहरूका कारण टायर पंचर हुने, अपरेटर घाइते हुने जस्ता समस्या हुन्। यसै कारण हेभी इक्विपमेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट थप २ जना अपरेटर पनि परिचालन गरिएको छ।
सडक डिभिजन कार्यालयले कुनै थप अवरोध नआएमा आज रातिसम्ममा पहिरो पूर्ण रूपमा पन्छाएर आवागमन खुल्ने सम्भावना रहेको जनाएको छ।







प्रतिकृया