• २ असोज २०८३, शुक्रबार
  • ६ः१८ बेलुका

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो, सडक पूर्ण रूपमा अवरुद्ध

प्रकाशित मिति

२०८२ आश्विन ४ गते, शनिबार ०९:३४

असोज ४, २०८२ काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा शुक्रबार साँझ ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षासँगै खसेको पहिरोले सडकको करिब १०० मिटर क्षेत्र ढाकिएको हो।

National Life

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार, रातभर पटक–पटक गरी खसेको पहिरोका कारण तत्काल सडक खुलाउन नसकिएको हो। “रातको समयमा निरन्तर ढुंगा र माटो खसिरहेकाले पहिरो पन्छाउन असम्भव भयो,” उनले भने।

शनिबार बिहान उज्यालो भएपछि पहिरो हटाउने काम सुरु गरिएको छ। दुवै दिशाबाट एक–एक वटा लोडर परिचालन गरिएको छ भने नारायणगढतर्फबाट सेती दोभान क्याम्पमा रहेको स्काभेटर पनि पठाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

हाल सडकका दुबै तर्फ सवारीसाधनको आवागमन पूर्ण रूपमा ठप्प रहेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। शुक्रबार दिउँसो पनि केही पहिरो खसेका थिए, जुन सफा गरिएपनि साँझ ६ बजेपछि फेरि पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भयो। यसले गर्दा अनेक यात्रु रातभर सडकमा बस्न बाध्य भएका छन्। पहिरो खसेको स्थान मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ पर्छ।

प्रशासन र सडक कार्यालयले यात्रु तथा सवारी चालकहरूलाई मौसम तथा सडक अवस्थाबारे सूचित भएसँगै यात्रा गर्न आग्रह गरेका छन्। निरन्तर वर्षा र पहिरोको जोखिम भएकाले यात्रामा सावधानी अपनाउनुपर्ने चेतावनीसमेत दिइएको छ।

प्रतिकृया