जेनजी आन्दोलन : दमकल नपठाएको आरोपप्रति काठमाडौं महानगरको खण्डन
प्रकाशित मिति
२०८२ आश्विन २ गते, बिहीबार १२:५५
असोज २,२०८२ काठमाडौं– काठमाडौं महानगरपालिकाले जेनजी आन्दोलनका क्रममा सिंहदरबार र सर्वोच्च अदालत नजिकैका संरचनामा आगलागी हुँदा पनि दमकल नपठाएको भन्ने आरोपको खण्डन गरेको छ। महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले आज बिहान आयोजित पत्रकार सम्मेलनमा यस्ता आरोप भ्रामक भएको दाबी गरे।
महानगर प्रहरी प्रमुख पाण्डेका अनुसार, सबै ठाउँमा दमकल नपुगेको भए पनि त्यसको कारण सुरक्षा चुनौती रहेको थियो। “हामीले सुरक्षाका कारण कतिपय स्थानमा दमकल तुरुन्तै नपठाउन सक्छौं, तर त्यसको अर्थ यो होइन कि हामीले जिम्मेवारी बेवास्ता गर्यौं,” पाण्डेले स्पष्ट पारे।
उनले आगलागी नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले महानगरको प्रयासमा सयौं पानी ट्यांकर परिचालन गरिएको जानकारी पनि दिए। “हामीले दमकलमा पानी सकिएपछि तत्कालै पानी फिलिङ गर्नको लागि सयौं ट्यांकरहरू सो ठाउँमा पुर्याएका थियौं,” उनले बताए।
दमकल स्वयं पनि संवेदनशील र सुरक्षित रहनुपर्ने भएकाले परिचालन अघि बाटो क्लियर गर्ने आवश्यकता रहेको पाण्डेले बताए। उनले नेपाली सेनासँग समन्वय गर्दै दमकल परिचालन गरिएको उल्लेख गर्दै भने, “आर्मी हेडक्वाटरको अपरेसन हेर्ने जर्साबसँग समन्वय गरेर हामीले दमकल परिचालन गरेका हौं। यसमा कोही भ्रममा नपरोस्।”
उनका अनुसार, परिस्थिति जटिल भए पनि काठमाडौं महानगरले सम्भव भएका सबै उपाय अपनाएको थियो। “महानगरले दमकल पठाएन भन्ने पूर्णतः गलत हो,” पाण्डेले दोहोर्याउँदै बताए।
यसअघि केही सामाजिक सञ्जाल र सर्वसाधारणले आन्दोलनका क्रममा संवेदनशील संरचनाहरूमा आगो लाग्दा पनि महानगरले तुरुन्त दमकल नपठाएको भन्दै आलोचना गरेका थिए।








प्रतिकृया