मन्त्री नपाएपछि साम्पाङ आक्रोशित र भावुक, बालेनको प्रतिक्रिया– ‘यू आर माई ट्र्यु लभ’
प्रकाशित मिति
२०८२ भाद्र ३१ गते, मंगलवार ०३:२८
भदौ ३१,२०८२ काठमाडौं – धरान महानगरपालिकाका मेयर हर्क साम्पाङ मन्त्री बन्ने आशा पूरा नभएपछि आक्रोशित बनेका छन्। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री पाउने अपेक्षा बोकेर काठमाडौँ गएका साम्पाङ खाली हात फर्किएपछि विशेषगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति कठोर प्रहार गर्दै आक्रोश पोखिरहेका छन्।
साम्पाङले सोमबार बालेनलाई प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव जितेर देखाउन चुनौती दिएका थिए। “सक्छस् भने चुनाव गरा, हारेँ भने तेरो घरमा एक वर्ष नोकर बस्छु,” भन्दै उनले बालेनमाथि व्यक्तिगत प्रहारसमेत गरे।
तर मंगलबार एक अन्तर्वार्तामा साम्पाङ भावुक बनेर धुरधुरी रोएका छन्। नेपालमा विदेशी हस्तक्षेप बढेको जिकिर गर्दै उनले “विदेशीले अहिले नेपाललाई टेकओभर गर्न सक्छन्” भन्दै चिन्ता व्यक्त गरेका छन्। युवाहरूले आफूलाई नेतृत्व लिन आग्रह गरेकाले जोखिम मोलेर काठमाडौं आएको तर मन्त्री पद नपाएको उनले गुनासो गरे।
प्रधानमन्त्री बन्ने इच्छा देखाएका साम्पाङले भदौ २५ गते काठमाडौं आएर प्रधानसेनापति अशोकराज सिग्देललाई समेत भेटेका थिए। तर अन्ततः सुशीला कार्कीलाई समर्थन जनाएर उनी खाली हात धरान फर्किए।
यसबीचमा, साम्पाङप्रति कठोर आलोचना सुन्नुपरेका बालेन्द्र साहले मंगलबार सामाजिक सञ्जालमार्फत फकाउने शैलीमा प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्, “डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ। एकतर्फी नै सही, तर मेरो माया साँचो हो। यू आर माई ट्र्यु लभ।”
साम्पाङ र बालेनबीचको यो आरोप–प्रत्यारोप र भावनात्मक अभिव्यक्तिले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ।








प्रतिकृया