जेनजी आन्दोलनपछि सेनाको सुरक्षामा रहेका नेताहरू फर्किए घर, प्रचण्ड’ गरे पार्टी कार्यालय पुगेर निरीक्षण
प्रकाशित मिति
२०८२ भाद्र ३१ गते, मंगलवार ०१:५५
भदौ ३१,२०८२ काठमाडौं – जेनजी प्रदर्शन उग्र बनेपछि सेनाको सुरक्षामा रहेका अधिकांश नेताहरू अब फर्किएका घर छन्। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र केही नेताहरू बाहेक अधिकांश नेताहरूलाई ब्यारेकबाट पठाइसकिएको सैनिक स्रोतले जनाएको छ। केही नेताहरूको सुरक्षा र बस्ने प्रबन्ध अझै मिलाउन बाँकी रहेकाले उनीहरू सेनाको सुरक्षा अन्तर्गत रहेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार पार्टी कार्यालय पेरिसडाँडा पुगेर निरीक्षणसमेत गरेका छन्। विपक्षी दलहरूले सिंहदरबारमा बैठक डाक्दा प्रचण्ड, माधवकुमार नेपाललगायत नेताहरू सिंहदरबारमै सुरक्षित राखिएका थिए।
निवर्तमान मन्त्रीहरूलाई सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा लगिएको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारबाटै हेलिकप्टरमार्फत सुरक्षित स्थानमा लगिएको थियो।
जेनजी आन्दोलन बिस्तारै मत्थर भएपछि र अन्तरिम सरकार गठन भएपछि सेनाले नेताहरूलाई क्रमशः फिर्ता पठाएको हो। सेनाको ब्यारेकबाट फर्किएका नेताहरूको सुरक्षा चुस्त पारिएको छ। भीआईपी सुरक्षा कार्यविधिअनुसार बढी सुरक्षा खतरा हुनेहरूलाई आवश्यक सुरक्षाकर्मी उपलब्ध गराइएको छ।
उच्च तहका नेताहरूको घरहरू आगजनीबाट नष्ट भएका कारण उनीहरू अहिले आफन्त वा साथीको घरमा बस्ने गरेका छन्। केहीले डेरा लिएर बस्न थालेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु देउवा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका थिए र हाल पनि उपचार जारी छ।






प्रतिकृया