जेनजी आन्दोलनले कैलालीमा १०८ सरकारी कार्यालय ध्वस्त, ६०० सवारीसाधन जलाए
प्रकाशित मिति
२०८२ भाद्र २९ गते, आईतवार ०९:५३
भदौ २९ ,२०८२ कैलाली – जेनजी आन्दोलनका क्रममा कैलाली जिल्लाभरका सरकारी संरचनामा ठूलो क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयले संकलन गरेको प्रारम्भिक विवरणअनुसार १०८ सरकारी कार्यालय भवनमा आगजनी, तोडफोड र लुटपाट भएको छ भने करिब ६०० वटा सवारीसाधन जलाइएका छन् ।
प्रदेशको अस्थायी राजधानी धनगढीसहित अत्तरिया, घोडाघोडी, लम्कीचुहा, टीकापुरलगायतका क्षेत्रमा आन्दोलनकारीले सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए । नेपाल टेलिकम, विद्युत प्राधिकरण, स्वास्थ्य कार्यालय, सेती प्रादेशिक अस्पताल, धनगढी उपमहानगरपालिका र नेपाल प्रहरी बाहेकका अधिकांश कार्यालय प्रभावित बनेका छन् ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले प्रारम्भिक विवरणअनुसार १०० वटा चार पाङ्ग्रे सवारी र करिब ५०० मोटरसाइकल आगजनीमा नष्ट भएको जानकारी दिए । उनका अनुसार ८–९ वटा राजनीतिक दलका पार्टी कार्यालय र केही नेताका निजी आवासमा समेत आगजनी भएको छ ।

आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमै आगजनी गरेपछि केही दिनदेखि सेवा प्रवाह ठप्प भएको छ । शनिबार सरसफाइ गरिएको प्रशासनले आइतबारदेखि टेन्ट गाडेर भए पनि अत्यावश्यक सेवा दिने तयारी गरेको जनाएको छ ।
आगजनीका कारण जिल्ला अदालत, मालपोत, नापी कार्यालय र प्रदेश सरकारअन्तर्गतका अधिकांश निकायको कामकाज रोकिएको छ । अवस्था सामान्य बन्दै गएसँगै वैकल्पिक रुपमा सेवा सञ्चालन गर्ने तयारी भइरहेको सम्बन्धित कार्यालयहरूले जनाएका छन् ।




प्रतिकृया