• २० असोज २०८३, मंगलबार
  • ९ः३९ राती

गोदावरीमा एमालेको दोस्रो विधान महाधिवेशन : डिजिटल सजावट र कडा तयारी

प्रकाशित मिति

२०८२ भाद्र १९ गते, बिहीबार ०६:१२

भदौ १९,२०८२ काठमाडौं – ललितपुरको गोदावरीस्थित सनराइज सभाहल एमालेको दोस्रो विधान महाधिवेशनका लागि बेहुलीझैँ सिँगारिएको छ। सातदोबाटोदेखि गोदावरी पुग्ने बाटोमा १८ वटा भव्य स्वागतद्वार निर्माण गरिएको छ भने बिजुलीका खम्बामा एमालेको चुनाव चिह्न सूर्य अंकित झण्डा फहराइएका छन्।

National Life

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारासहित हुने महाधिवेशनका लागि मञ्च र सभाहल पूरै डिजिटल प्रणालीमा जोडिएको छ। स्थायी कमिटी सदस्य विनोद श्रेष्ठको संयोजनमा मञ्च व्यवस्थापन गरिएको छ।

सभाहलमा २८४० सिटको व्यवस्था छ। चारवटा प्रवेशद्वारमध्ये पहिलो द्वार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका लागि मात्रै खुला हुनेछ। अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री र प्रतिनिधिहरू स्क्यान प्रणालीमार्फत दोस्रो र तेस्रो द्वारबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। ६ वटा कम्प्युटर बुथमार्फत प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकलाई भित्र प्रवेश गराइनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

सभाहल भित्र प्रवेश गर्दा दायाँपट्टि प्रधानमन्त्री ओलीको पूर्णकदको तस्बिरसहित महाधिवेशनको लोगो सजाइएको छ। भित्तामा पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी, कार्ल मार्क्स, एङ्गेल्स र लेनिनका तस्बिर राखिएका छन्। २२ सय स्क्वायर फिट डिजिटल बोर्ड, फोहोरामा हाँसको सजावट र पूर्ण वाइफाइ जोनसहितको मिडिया सेन्टर पनि तयार पारिएको छ।

मञ्च दुई खण्डमा विभाजन गरिएको छ, जहाँ अध्यक्ष ओली अगाडि र अन्य पदाधिकारीहरू पछाडि बस्ने व्यवस्था मिलाइएको छ। उद्घाटन कार्यक्रम १२ मिनेटभित्र सम्पन्न हुनेछ, जसमा मंगल धुन, शोक धुन, राष्ट्रिय धुन र अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत बजाइनेछ।

महाधिवेशनमा २,०२६ जना प्रतिनिधि, ३१५ जना आयोजक गरी २,३४१ जना सहभागी हुनेछन्। स्वयंसेवक र सुरक्षासहित करिब ३,५०० जनालाई खानाको व्यवस्था मिलाइएको छ। पहिलो दिनको प्रतिवेदन वाचनपछि साँझ ५:३० बजेसम्म कार्यक्रम सकिनेछ।

२१ गते सबै प्रतिवेदनमाथि छलफलका लागि सहभागीलाई १० समूहमा विभाजन गरिनेछ। सातदोबाटोदेखि महाधिवेशन स्थलसम्म यातायात र स्वागतद्वारलगायत सबै तयारी पूरा भएको एमाले ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिएका छन्।

प्रतिकृया