प्रधानमन्त्री ओली चीन प्रस्थान
प्रकाशित मिति
२०८२ भाद्र १४ गते, शनिबार ०८:४७
भदौ १४,२०८२ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान ७ बजे हिमालयन एयरलाइन्समार्फत चीन प्रस्थान गरेका छन्। उनी सांघाई सहयोग संगठन (एससीओ) को २५औं शिखर सम्मेलन र ‘एससीओ प्लस’ बैठकमा सहभागी हुनेछन्।
प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खडका, नेकपा एमाले सचिव छविलाल विश्वकर्मा र परराष्ट्र मन्त्रालयका अधिकारीहरू चीन भ्रमणमा सहभागी भएका छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, उपराष्ट्रपति हान चङलगायत विभिन्न राष्ट्र प्रमुखहरूसँग भेटवार्ता गर्नेछन्। १६ भदौमा तियानजिनमा हुने ‘एससीओ प्लस’ शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। साथै, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग पनि भेट हुने पक्का भएको छ।
भ्रमणको अन्तिम दिन, १८ भदौमा, प्रधानमन्त्री ओली विश्व नेताहरूसँगै बेइजिङमा आयोजना हुने फाँसीवादविरुद्धको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुनेछन्, जसमा ५० भन्दा बढी देशका प्रतिनिधिहरू उपस्थित हुने अपेक्षा गरिएको छ।








प्रतिकृया