देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
प्रकाशित मिति
२०८२ श्रावण १९ गते, सोमबार ०९:३७
श्रावण १९, २०८२ काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानको तुलनामा उत्तरतर्फ सरेको र नेपाल नजिकैको तराई क्षेत्रमा सक्रिय भएको महाशाखाको विश्लेषण छ।
सोमबार बिहान मधेश प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका तराई भूभागहरूमा पनि वर्षा जारी रहेको जनाइएको छ। दिउँसो देशभर सामान्यतया बदली रहने र अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान छ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ।
रातको समयमा पनि देशभर सामान्य बदली रहनेछ भने कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा र बागमती, गण्डकी तथा लुम्बिनीका थोरै स्थानहरूमा भारीदेखि अत्यधिक वर्षा हुने सम्भावना रहेको उल्लेख गरिएको छ। महाशाखाले लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।








प्रतिकृया