• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

निर्मला पन्त प्रकरणमा गम्भीर अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

प्रकाशित मिति

२०८२ श्रावण १८ गते, आईतवार ०५:४१

श्रावण १८, २०८२ काठमाडौं  गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको गम्भीर र नयाँ शिराबाट अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाई निर्देशन दिएका छन्।

आइतबार CIB को कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले निर्मला पन्त प्रकरणमा सूक्ष्म अनुसन्धान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन्। उनले सीआईबीलाई अनुसन्धानको गति तीव्र बनाउन र आमजनताको विश्वास अझै बलियो बनाउँदै काम गर्न आग्रह गरे।

Kamana Sewa

“निर्मला पन्तलगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु,” मन्त्री लेखकले भने, “नेपाल प्रहरीभित्र पनि सीआईबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ।”

Classic Tech Desktop

गृहमन्त्री लेखकले सीमित स्रोतसाधनबीच सीआईबीले गरेको कार्यसम्पादनको प्रशंसा गर्दै मन्त्रालय सीआईबीलाई साधनस्रोत सम्पन्न बनाउने दिशामा गम्भीर रहेको जानकारी दिए।

उनले पछिल्लो समय मुलुकमा वित्तीय अपराध वृद्धि भएको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि अपराध अनुसन्धान महाशाखा गठन गरिएको जानकारी पनि दिए। मन्त्री लेखकका अनुसार हाल देशभर प्रहरी चौकीको माग बढ्दो छ, जसले प्रहरीप्रतिको विश्वास बलियो हुँदै गएको संकेत गर्छ।

सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले कार्यक्रममा ब्युरोले हाल गरिरहेको अनुसन्धान, सफलता, चुनौती र कारबाहीको विवरण प्रस्तुत गरेका थिए। उनले निर्मला पन्त प्रकरणसहित अन्य घटनाहरूको अनुसन्धान पनि जारी रहेको स्पष्टिकरण दिए। कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, CIB प्रमुख अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङलगायत ब्युरोमा कार्यरत प्रहरी अधिकारीहरूको उपस्थिति थियो।

प्रतिकृया