• ४ साउन २०८३, सोमबार
  • १:३५ बिहान

ज्योति विकास बैंकले विभिन्न कार्यक्रम गर्दै मनायो १७औँ वार्षिकोत्सव

प्रकाशित मिति

२०८२ श्रावण १० गते, शनिबार १०:२२

श्रावण १०,२०८२ काठमाडौं । ज्योति विकास बैंकले विभिन्न कार्यक्रम गर्दै आफ्नो १७औँ वार्षिकोत्सव मनाएको छ । यो बैंक आज शुक्रबार अर्थात् ९ साउनमा १७  वर्षको सफल यात्रा पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको छ ।

बैंकको प्रधान कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरेका थिए । उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरू, भूतपूर्वअध्यक्ष, भूतपूर्व सञ्चालकहरू र कर्मचारीवर्गको उपस्थिति थियो । बैंकको वार्षिकोत्सव समारोहमा २४x७ उपलब्ध एआई च्याटबट ‘ज्योति’ सार्वजनिक गरिएको थियो, जसले सरल इन्टरफेस र भाषिक विकल्पमार्फत ग्राहकहरूलाई बैंकिङ जानकारीमा सहज पहुँच र तुरुन्तै जानकारी प्राप्त गर्ने सुविधा प्रदान गर्नेछ । यसले बैंकको डिजिटल ग्राहक सेवा थप सशक्त बनाउने विश्वास लिइएको छ ।

Kamana Sewa

त्यस्तै, वार्षिकोत्सवको अवसर पारेर बैंकले इन्टरबैंक टेलर क्यूआर सेवा सुरु गरेको छ । यस सेवामार्फत खाता नभएका व्यक्तिहरूले पनि आफ्नो बैंकको मोबाइल बैंकिङ एप वा खल्ती वालेट प्रयोग गरी ज्योति विकास बैंकका शाखाबाट सहज रूपमा नगद झिक्न सक्नेछन्, जुन सेवा विशेष गरी एटीएम वा सम्बन्धित शाखा पायक नपर्ने अवस्थाहरूमा निकै उपयोगी हुनेछ ।

Classic Tech Desktop

वार्षिकोत्सवको अवसरमा, बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत विविध गौरवपूर्ण सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको घोषणा तथा सम्झौता गरेको छ । तिलगंगा इन्स्टिच्युट अफ अफथ्याल्मोलोजीसँगको सहकार्यमा सप्तरीको कञ्चन रूपमा आँखा जाँच तथा मोतिविन्दुको निःशुल्क शल्यक्रिया सञ्चालन गर्ने भएको छ । 

त्यस्तै, राष्ट्रिय आविष्कार केन्द्रसँगको साझेदारीमा १० वटा ‘न्यानो नानी’ बेबी वार्मर उपकरण दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा जडान गरिनेछ । यस्तै, ई-नेबल नेपालसँग मिलेर १७ जना शारीरिक तवरले फरक बालबालिकालाई थ्रीडी प्रविधिबाट निर्मित कृत्रिम हात प्रदान गरिनेछ । साथै, हरियाली प्रवर्द्धनका लागि लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा सातै प्रदेशमा १,७०० वृक्षरोपण गर्ने घोषणा गरिएको छ । 

वार्षिकोत्सवको अवसरमा बैंकले ‘ज्योति गट ट्यालेन्ट’को दोस्रो संस्करण आयोजना गर्दै कर्मचारी तथा उनीहरूका बालबालिकाको प्रतिभालाई प्रोत्साहन गरेको थियो । विविध सिर्जनात्मक तथा कलात्मक प्रस्तुतिमार्फत सम्पन्न प्रतियोगिताका उत्कृष्ट सहभागीहरूलाई बैंकका अध्यक्ष हरिचन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिकृया