१५ वटा राष्ट्रिय स्तरका फाइनान्स कम्पनीलाई निक्षेप संकलन सीमा हटाइयो
प्रकाशित मिति
२०८२ श्रावण १ गते, बिहीबार ०१:३९
साउन १,२०८२ काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ वटा राष्ट्रिय स्तरका फाइनान्स कम्पनीहरूको लागि निक्षेप संकलन सीमा हटाएको छ। राष्ट्र बैंकले बुधबार नयाँ निर्देशन जारी गर्दै यी कम्पनीहरूलाई अब प्राथमिक पूँजीको १५ प्रतिशत सीमा नहटेसम्म मात्रै निक्षेप संकलन गर्नुपर्ने पुरानो व्यवस्था हटाएको हो।
राष्ट्र बैंकका अनुसार हाल नेपालमा १७ वटा फाइनान्स कम्पनी सञ्चालनमा छन्, जसमध्ये १५ वटा राष्ट्रिय स्तरका छन् भने बाँकी २ वटा—जानकी फाइनान्स र मल्टिपर्पस फाइनान्स—प्रादेशिक स्तरका हुन्। प्रादेशिक स्तरका यी कम्पनीहरूले भने अझै पनि प्राथमिक पूँजीको १५ प्रतिशतभन्दा बढी निक्षेप संकलन गर्न पाउने छैनन्।
नयाँ निर्देशनअनुसार, राष्ट्रिय स्तरका विकास बैंक बाहेक ‘ख’ वर्गका इजाजतप्राप्त वित्तीय संस्थाहरूले अब आफ्नाे प्राथमिक पूँजीको २० गुणासम्म वित्तीय स्रोत संकलन गर्न सक्नेछन्। हाल सञ्चालनमा रहेका १७ विकास बैंकमध्ये ९ वटा प्रादेशिक स्तरका छन्।
सापटीका हकमा, कुनै पनि वित्तीय संस्थाले आफ्नो कुल निक्षेप दायित्वको एक चौथाइसम्म मात्र सापटी (loan) परिचालन गर्न पाउने व्यवस्था छ। वित्तीय स्रोत संकलनको सीमा मूल्याङ्कन गर्दा ठिक अघिल्लो त्रैमासको प्राथमिक पूँजीलाई आधार मानिनेछ।
यससँगै अब ‘क’ वर्गका वाणिज्य बैंक, राष्ट्रिय स्तरका ‘ख’ वर्गका विकास बैंक, तथा राष्ट्रिय स्तरका ‘ग’ वर्गका वित्त कम्पनीहरूलाई निक्षेप संकलनमा कुनै सीमा लाग्ने छैन। यद्यपि राष्ट्रिय स्तरबाहेकका ‘ग’ वर्गका संस्थाहरूले भने अझै पनि आफ्नो प्राथमिक पूँजीको १५ गुणासम्म मात्र वित्तीय स्रोत संकलन गर्न पाउने छन्।
राष्ट्र बैंकको यस निर्णयले राष्ट्रिय स्तरका वित्त कम्पनीहरूको परिचालन क्षमता बढाउने अपेक्षा गरिएको छ।








प्रतिकृया