• २१ असोज २०८३, बुधबार
  • ४ः४० बिहान

राजस्व सङ्कलनमा उत्साहजनक वृद्धि

प्रकाशित मिति

२०८२ श्रावण १ गते, बिहीबार ०१:२८

साउन १,२०८२ काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८१/०८२ काे राजस्व सङ्कलन ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा सङ्कलन भएको १० खर्ब ५८ अर्ब रुपैयाँभन्दा १ खर्ब २० अर्ब रुपैयाँले बढी हो। प्रतिशतका आधारमा हेर्दा राजस्वमा ११.३३ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको छ।

National Life

अर्थ मन्त्रालय अनुसार, २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो। तर, अर्धवार्षिक समीक्षापछि संशोधन गरिएको १२ खर्ब ८६ अर्बको लक्ष्यमध्ये ९१.६० प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ।

मन्त्रालयको राजस्व महाशाखाका प्रमुख उत्तरकुमार खत्रीले अन्तर्राष्ट्रिय परिस्थिति र विविध चुनौतीबीच पनि अघिल्लो वर्षको तुलनामा सन्तोषजनक राजस्व उठान भएको बताए। “तयारी शुरु गरिसकेका छौं । चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौं,” उनले भने।

Classic Tech Mobile
Classic Tech Desktop

यस वर्ष (२०८२/०८३) मा १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य तोकिएको छ।

गत दशकमा नेपालमा राजस्व संकलनमा उल्लेख्य वृद्धिदर देखिएको छ। २०७१/०७२ मा ४ खर्ब ५ अर्ब, २०७२/०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३/०७४ मा ६ खर्ब ९ अर्ब, २०७४/०७५ मा ७ खर्ब २६ अर्ब, २०७५/०७६ मा ८ खर्ब २९ अर्ब, २०७६/०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७/०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८/०७९ मा १० खर्ब ६६ अर्ब, २०७९/०८० मा ९ खर्ब ५७ अर्ब तथा २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व सङ्कलन भएको थियो।

विपद्, अन्तर्राष्ट्रिय परिस्थिति र आर्थिक चुनौतीबीच सरकारको राजस्व सङ्कलन अभियानमा निरन्तरता रहे पनि तोकिएको लक्ष्यसम्म पुग्न अझै चुनौती बाँकी रहेको देखिन्छ।

प्रतिकृया