स्पेन भ्रमणबारे फैलाइएको झुटो प्रचारप्रति प्रधानमन्त्री ओलीको प्रहार
प्रकाशित मिति
२०८२ असार २९ गते, आईतवार ०१:०९
असार २९,२०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका अन्तर्गत पर्ने मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन्। विश्व बैंकको सहयोगमा निर्माण भएको ४.८६ किमी लामो उक्त सडक ४४ करोड २४ लाख रुपैयाँ लागतमा समयमै सम्पन्न भई नमूना आयोजनाको रूपमा चिनिएको छ। यो सडक नेपालभरका १७ नमुना सडक आयोजनामध्ये एक हो।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणको लहर ल्याउने अभियानमा यो सडक पनि महत्वपूर्ण कडी भएको बताए। उनले मेचीदेखि महाकालीसम्म सुरु गरिएका कामहरू सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे।

साथै, प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण गरिने घोषणा गर्दै खेल, शिक्षा र पूर्वाधारमा समान रूपमा लगानी हुने बताए। उनले स्वयंसेवी भावनामा आधारित निःशुल्क अनलाइन कक्षा सञ्चालनका कारण यस वर्ष एसईईको नतिजामा १३ प्रतिशतले सुधार आएको दाबी गरे।

आफ्नो हालैको स्पेन भ्रमणप्रति उठेको आलोचनाबारे बोल्दै प्रधानमन्त्री ओलीले भ्रमणको सफलताबाट ध्यान मोड्न केही विरोधी तत्वहरूले झुटा र बेबुनियादी प्रचार गरेको आरोप लगाए। उनले त्यसप्रकारका प्रचारप्रति जवाफ दिन आवश्यक नरहेको स्पष्ट पारे।




प्रतिकृया