• २१ असोज २०८३, बुधबार
  • ४ः५४ बिहान

भोटेकोशी बाढीले दर्जनौं जलविद्युत आयोजना प्रभावित, इप्पानद्वारा सरकारलाई तत्काल पहल गर्न आग्रह

प्रकाशित मिति

२०८२ असार २६ गते, बिहीबार १२:३५

असार  २६, २०८२ काठमाडौं । असार २४ गते चीनको तिब्बत क्षेत्रबाट आएको भोटेकोशी (लेहेन्दे खोला) बाढीले रसुवा र नुवाकोट जिल्लाका दर्जनौं जलविद्युत आयोजनामा गम्भीर क्षति पुर्‍याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मानवीय तथा भौतिक क्षतिका लागि सरकारलाई तत्काल आवश्यक पहल गर्न आग्रह गरेको छ।

National Life

बुधबार जारी इप्पानको विज्ञप्ति अनुसार, बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ भने टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाह पूर्णरूपमा ध्वस्त भएको छ। घटनामा हालसम्म ७ जनाको ज्यान गएको र १९ जना अझै बेपत्ता रहेको जानकारी दिइएको छ।

इप्पानका अनुसार, करिब २५० मेगावाट क्षमताका विद्युत आयोजनाको उत्पादन पूर्ण रूपमा रोकिएको छ भने ३५० मेगावाटभन्दा बढी क्षमताका निर्माणाधीन आयोजनाहरूको कार्य अवरुद्ध भएको छ। १११ मेगावाटको रसुवागढी जलविद्युत, ६० मेगावाटको त्रिशूली ३ए, २५ मेगावाटको त्रिशूली, २२ मेगावाटको चिलिमे, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट र ५ मेगावाटको मैलुङ खोला जलविद्युतमा क्षति भएको छ । यीमध्ये अधिकांश आयोजनाहरूमा निजी क्षेत्रको लगानी रहेको र निर्माणाधीन आयोजना अझै निजी नेतृत्वमै अगाडि बढिरहेको इप्पानले जानकारी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बाढीका कारण त्रिशूली नदी करिडोरमा रहेको विद्युत प्रसारणको केन्द्र ‘त्रिशूली ३बी हब सवस्टेशन’ र प्रसारण लाइनमा क्षति पुगेकाले आगामी दिनहरूमा अर्बौं रुपैयाँ बराबरको घाटा हुने अनुमान गरिएको छ। टिमुरे सुख्खा बन्दरगाह क्षेत्रबाट दर्जनौं कन्टेनर तथा सयौं सवारी साधन बगाएको र नेपाल–चीन मुख्य व्यापारिक नाका पूर्ण रूपमा अवरुद्ध हुँदा वार्षिक १ खर्ब रुपैयाँभन्दा बढीको द्विपक्षीय व्यापारमा गम्भीर असर परेको इप्पानले जनाएको छ।

इप्पानले यस्तो परिस्थितिमा राजस्व संकलनमा पर्न सक्ने असरको मूल्यांकन गर्दै नाका यथाशक्य चाँडो पुनः सञ्चालनमा ल्याउन सरकारसँग विशेष आग्रह गरेको छ। उक्त संकटको समयमा रसुवागढी जलविद्युतमा कार्यरत ३६ जनासहित करिब १५० जनाको सफल उद्धारमा देखिएको सक्रियता प्रति इप्पानले नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई धन्यवाद दिएको छ।

साथै, पीडित संरचनाको शीघ्र पुनर्निर्माण, विद्युत उत्पादन पुनः सञ्चालन र आवश्यक नीतिगत सहजीकरणका लागि पनि सरकारलाई आग्रह गरिएको छ।

इप्पानले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, बेपत्ता नागरिकको खोजी जारी रहेको जनाउँदै सबै नदी बेसिन क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध पनि गरिएको छ।

प्रतिकृया