केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बस्दै
प्रकाशित मिति
२०८२ असार २४ गते, मंगलवार १२:२८
असार २४, २०८२ काठमाडौं । रसुवामा आएको आकस्मिक बाढी र त्यसले पुर्याएको क्षतिको मूल्याङ्कन तथा आवश्यक निर्णय गर्न संघीय सरकारका दुई प्रमुख निकायहरूको आकस्मिक बैठक बस्ने भएको छ। केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने प्राधिकरणले जनाएको छ।
चीनको तिब्बत क्षेत्रतर्फको भीषण वर्षापछि भोटेकोशी नदीमा आएको बाढीले नेपालतर्फको सीमा क्षेत्र रसुवामा ठूलो क्षति पुर्याएको हो। गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे क्षेत्रमा रहेको भन्सार कार्यालयको यार्ड, आसपासका संरचना तथा तीन जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीमा परी हालसम्म १२ नेपाली र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालित छन् भने केही स्थानमा पहुँच नपुग्दा उद्धार कार्यमा चुनौती देखिएको छ। बाढीले विद्युत उत्पादन र सञ्जालमा समेत असर पुर्याएको छ। प्रभावित जलविद्युत आयोजनाहरू पूर्ण रूपमा बन्द अवस्थामा छन्।
गृहमन्त्रालय स्रोतका अनुसार आजको बैठकमा उद्धार, राहत, पुनःस्थापना तथा दीर्घकालीन जोखिम व्यवस्थापनका उपायबारे निर्णय गरिनेछ। बैठकमा गृह, रक्षा, ऊर्जा, परराष्ट्र, भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधि, सुरक्षानिकाय, प्राधिकरणका अधिकारी तथा प्राविधिक विज्ञ सहभागी हुनेछन्।








प्रतिकृया