वडाध्यक्ष घुस सहित पक्राउ
प्रकाशित मिति
२०८२ असार २४ गते, मंगलवार १०:२८
असार २४, २०८२ काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जनार्दन यादव ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले असार २३ गते उनलाई पक्राउ गरेको हो।
वडाध्यक्ष यादवले वडामा सञ्चालित विभिन्न विकास योजनाको निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी सिफारिस गर्न सेवाग्राहीसँग घुस माग गरेका थिए। बार्गेनिङपछि उनले सिफारिस गरिदिने सर्तमा ३ लाख रुपैयाँ घुस लिन श्री गणेश ट्रेडिङ, सिद्धार्थनगर–९ का सञ्चालक विपिन कुमार पाण्डेयलाई बिचौलिया बनाएर पठाएका थिए।
बिचौलिया पाण्डेयले घुस रकम लिइसकेपछि अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो। त्यसपछि घुस लिन पठाएका वडाध्यक्ष यादवलाई समेत नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए। प्रवक्ता पौडेलका अनुसार, यादव र पाण्डेय दुवैलाई नियन्त्रणमा लिएर सो घुस काण्डको थप अनुसन्धान अघि बढाइएको छ।






प्रतिकृया