एससिओ ऊर्जामन्त्रीस्तरीय बैठकमा मन्त्री खड्काको सम्बोधन: ‘ऊर्जा व्यापारमा क्षेत्रीय सहकार्य आवश्यक’
प्रकाशित मिति
२०८२ असार १२ गते, बिहीबार १२:५८
असार १२ , २०८२ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शाङ्हाई सहयोग संगठन (एससिओ) का सदस्य राष्ट्रहरूको पाँचौं ऊर्जामन्त्रीस्तरीय बैठकमा क्षेत्रीय सहकार्य र नवप्रवर्तनमा आधारित ऊर्जा व्यापारलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्। चीनको जेझियाङ प्रान्तको निङ्बो सहरमा आज सम्पन्न बैठकलाई सम्बोधन गर्दै मन्त्री खड्काले एससिओ राष्ट्रहरूका जनसंख्या, स्रोत र सम्भावनालाई आधार बनाएर नयाँ सोचसहितको क्षेत्रीय ढाँचा निर्माण आवश्यक रहेको बताए।
‘इन्टरग्रेटेड इनोभेसन फर इनर्जी फ्युचर’ नारासहित सुरु भएको बैठकमा उनले ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, ऊर्जा सुरक्षा र नवप्रवर्तनका पक्षमा क्षेत्रीय एकता र सहकार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे। मन्त्री खड्काले नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र पन्ध्र हजार मेगावाट निर्यात गर्ने योजना अघि बढाएको जानकारी दिए। हाल नेपालमा करिब ३,५०० मेगावाट विद्युत् उत्पादन भइसकेको र छिट्टै यो दोब्बर बनाउने तयारी भइरहेको पनि उनले बताए।
उनका अनुसार भारतको ग्रिड प्रयोग गरेर बङ्गलादेशमा विद्युत् निर्यात गर्न सफल भएसँगै त्रिपक्षीय ऊर्जा सहकार्यको नीति कार्यान्वयनमा आएको छ। एससिओको संवाद साझेदार राष्ट्रका रूपमा नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा निरन्तर योगदान गर्न प्रतिबद्ध रहेको मन्त्री खड्काले स्पष्ट पारे।
बैठकमा भाग लिन मन्त्री खड्का असार १० गते चीन प्रस्थान गरेका थिए।








प्रतिकृया