हेटौंडा उपमहानगरको २ अर्ब ९० करोडको बजेट सार्वजनिक, स्वरोजगार र पूर्वाधारमा जोड
प्रकाशित मिति
२०८२ असार ११ गते, बुधबार ०१:४९
असार ११ , २०८२ हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आज बसेको नगरसभामा बजेट प्रस्तुत गर्दै उपमहानगरले आन्तरिक स्रोत र विभिन्न तहका सरकारबाट प्राप्त हुने रकममार्फत बजेट खर्च व्यवस्थापन गरिने जनाएको छ।
बजेटको प्रमुख आयस्रोतमा आन्तरिक आम्दानीबाट ६२ करोड ७६ लाख ८० हजार, राजस्व बाँडफाँडबाट ९२ करोड ७० लाख ५५ हजार, प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार, संघीय सरकारबाट १ अर्ब १९ करोड ५० लाख र नगर विकास कोषको ऋणबाट ३ करोड ६० लाख रुपैयाँ रहने अनुमान गरिएको छ।
यस वर्षको बजेटमा उपमहानगरले स्वरोजगार र रोजगारीमूलक तालिम तथा साना उद्योग प्रवद्र्धनमा विशेष प्राथमिकता दिएको छ। ‘मेयरसँग स्वरोजगार कार्यक्रम’ अन्तर्गत चिज बनाउने उद्योग, बारिष्ठा, सुशी, कपाल कटाई, काष्ठकला, मकैको खोस्टा र थाकलको चकटी निर्माणसम्बन्धी तालिम सञ्चालनका लागि ९८ लाख ३६ हजार रुपैयाँ विनियोजन गरिएको छ।
आर्थिक विकासका लागि अटोभिलेज पूर्वाधार निर्माण (हेटौंडा–११), वाटर फन पार्क (हेटौंडा–१४), र गंगा आरती स्थल (हेटौंडा–१०) निर्माणका लागि बजेट छुट्याइएको छ। यस्तै, निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन सम्पन्न गर्न ४ करोड रुपैयाँ छुट्याइएको छ। वन, वातावरण र विपद् व्यवस्थापनसँग सम्बन्धित कार्यक्रमहरूका लागि ६ करोड २० लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। उपमहानगरले प्रस्तुत गरेको बजेट विकास, रोजगारी र पूर्वाधार सन्तुलनमा आधारित रहेको जनाएको छ।








प्रतिकृया