तञ्जली जग्गा प्रकरण : विशेष अदालतमा माधव नेपालको बयान सकियो, टी ब्रेकपछि थुनछेक बहस
प्रकाशित मिति
२०८२ असार ११ गते, बुधबार ०२:२१
असार ११ , २०८२ काठमाडौं । पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको विशेष अदालतमा बयान सकिएको छ। बुधबार न्यायाधीश तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा भएको सुनुवाइमा नेपालको बयान टी ब्रेकअघि नै सकिएको हो। अब केहीबेरमा थुनछेक बहस सुरु हुने बताइएको छ।
नेपाल पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोपाकृष्ण घिमिरे, गोविन्द बन्दी, खम्मबहादुर खातीसहित १२० जनाले बहसका लागि नाम दर्ता गराएका छन्। तर थुनछेक बहस लम्बिएमा माधव नेपाललाई आजै न्यायिक हिरासतमा बस्नुपर्ने सम्भावना रहेकाले सीमित कानुन व्यवसायीमार्फत बहस गर्ने तयारी भइरहेको छ। त्यसैगरी, अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त बहसमा सहभागी हुनेछन्। पन्तलाई अख्तियारले निजी वकिलका रूपमा नियुक्त गरेको हो।
अख्तियारले जेठ २२ गते पतञ्जली योगपीठलाई सरकारी जग्गा सस्तोमा सट्टापट्टा गरिदिएको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।








प्रतिकृया