माओवादी केन्द्रद्वारा भिजिट भिसा छानबिन समितिको स्वागत
प्रकाशित मिति
२०८२ असार १० गते, मंगलवार ०२:३१
असार १० , २०८२ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भिजिट भिसासम्बन्धी प्रकरणको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समितिको स्वागत गरेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले उक्त समिति गठन आफ्नो मागअनुसार भएको भन्दै सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले लोकतन्त्रलाई सुदृढ बनाउन देखिएका समस्याहरूको समयानुकूल समाधान आवश्यक रहेको उल्लेख गरे।
“लोकतन्त्र सुदृढ बनाउन व्यवस्था वा प्रणालीमा देखिएका समस्या जनभावनाअनुसार सुधार गर्दै लैजानुपर्छ,” उपमहासचिव पुनले बताए । उनले भिजिट भिसा प्रकरणको दिगो समाधानका लागि समितिले निष्पक्ष र गहिरो छानबिन गरोस् भन्ने शुभकामना पनि व्यक्त गरे। माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि सक्रिय रहेको जनाउँदै यस विषयमा आफूहरू विश्वस्त रहेको गरेका छन् ।

सो अवसरमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा जानकारी दिँदै पूर्वमुख्यसचिव शङ्करदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरिएको बताए। गृहमन्त्री लेखकका अनुसार समितिमा विभिन्न ६ मन्त्रालयका सहसचिवहरू सदस्य छन्। ती सदस्यहरूमा अर्थ मन्त्रालयका तीर्थराज चिलवाल, कानुन, न्याय तथा संसदीय मामिलाका अरुणा जोशी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका मणिरत्न कोइराला, श्रम, रोजगार तथा सामाजिक सुरक्षाका प्रदीप कोइराला र गृह मन्त्रालयका आनन्द काफ्ले रहेका छन्।





प्रतिकृया