सुदूरपश्चिम सरकारले खर्च गर्यो ४२ प्रतिशत बजेटमात्र
प्रकाशित मिति
२०८२ असार ७ गते, शनिबार ०२:२३
असार ७, २०८२ काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा कूल विनियोजित बजेटको मात्र ४२ दशमलव २७ प्रतिशत खर्च गरेको छ। साउनदेखि जेठ मसान्तसम्मको अवधिमा प्रदेश सरकारले कुल रु १३ अर्ब ३३ करोड ४ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।
यस अवधिमा सरकारको चालु खर्च रु ६ अर्ब ९७ करोड २ लाख र पुँजीगत खर्च रु ६ अर्ब ३६ करोड २ लाख रहेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख वासुदेव जोशीका अनुसार विभिन्न मन्त्रालयहरूमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी रु ५ अर्ब ७९ करोड ३३ लाख खर्च गरेको छ। सामाजिक विकास मन्त्रालयले दुई अर्ब ८६ करोड ७३ लाख, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु ९९ करोड ६७ लाख र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ९२ करोड ७६ लाख खर्च गरेको उनले जानकारी दिए ।
कार्यालय प्रमुख जोशीका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रु १६ करोड ७५ लाख, आर्थिक मामिला मन्त्रालयले रु ११ करोड ९२ लाख र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पाँच करोड २१ लाख खर्च गरेको छ । त्यस्तै, प्रदेश व्यवस्थापिकाले १३ करोड ४१ लाख, प्रदेश नीति तथा योजना आयोगले दुई करोड ११ लाख र प्रदेश लोकसेवा आयोगले रु ४४ लाख खर्च गरेको उनले जानकारी दिए ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले चालु आवका लागि कूल रु ३१ अर्ब ६२ करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । त्यसमध्ये, चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख बजेट विनियोजन गरेको थियो ।








प्रतिकृया