• २ असोज २०८३, शुक्रबार
  • ७ः५३ बेलुका

अन्तर्राष्ट्रिय सम्मेलनमा चन्द्र ढकालले भने– औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले सुधार गरेको छ

प्रकाशित मिति

२०८२ जेष्ठ २६ गते, सोमबार ०९:१८

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन्। स्विट्जरल्याण्डको जिनेभामा आयोजित ११३ औँ अन्तराष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालले गरेको पछिल्ला सुधारहरु प्रस्तुत गरेका हुन्।

National Life

सम्मेलनका क्रममा रोजगारदाताहरुको तर्फबाट सोमबार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरबारे विश्व समुदायलाई जानकारी गराए। सम्मेलनमा विश्वका करिब १८७ मुलुकका सरकार, रोजगारदाता एवं ट्रेड युनियनका प्रतिनिधिहरु सहभागी छन्। नेपालमा रोजगारदाताको संस्थाको रुपमा रहेको महासंघका अध्यक्ष ढकालले नीतिगत सुधारसंगै नेपालको भौगर्भिक विविधता एवं भौगोलिक अवस्थितिले लगानीको पर्याप्त अवसर रहेको बताए।

‘नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको छ,’ उनले भने, ‘तर पनि भारत चीन लगायतका मुलुकमा नेपाली उत्पादनको भन्साररहित सुविधा कायमै रहने हुँदा नेपालमा थप अवसर कायमै रहनेछ।’ उनले नेपालको भौगोलिक अवस्थितिका कारण कृषिजन्य उत्पादन, जलविद्युत, पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना र अवसरहरु रहेको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी अर्थतन्त्रको औपचारिकीकरणमा नेपालले गरिरहेको प्रयासको विश्व मञ्चमा प्रसंशा भएकोमा अध्यक्ष ढकालले खुशी व्यक्त गरे। औपचारिक अर्थतन्त्र विस्तारका लागि नवीन सोच सहित काम गरेकोमा अन्तराष्ट्रिय श्रम संगठनले नेपाल, जिम्बाव्वे, कोट डे भाँ, युरुग्वे र नामिबियाको प्रसंशा गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।

नेपालको अर्थतन्त्रको औचारिकीकरणका लागि महासंघ, ट्रेड युनियन र सरकारले समिति बनाएर काम गरिरहेको समेत अध्यक्ष ढकालले बताए। यस्तै अध्यक्ष ढकालले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र जलवायु वित्तमा अन्तर्राष्ट्रिय सहभागिताका लागि आग्रह गरे।

प्रतिकृया