• २ असोज २०८३, शुक्रबार
  • ८ः०९ राती

गृहमन्त्रीको आह्वान – मनसुनजन्य विपद्का लागि सरकार र निजी क्षेत्रको सहकार्यमा पूर्वतयारीमा जुटौँ

प्रकाशित मिति

२०८२ जेष्ठ ७ गते, बुधबार ०८:४८

काठमाडौं – गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि सरकार र गैरसरकारी दुवै क्षेत्र मिलेर पूर्वतयारीमा जुट्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले पूर्वमनसुनको अवस्थामा मनसुनको बेला आउन सक्ने विपद् जोखिम न्यूनीकरणबारे छलफल भएको बताए। उनले र्‍याफ्टिङ एसोसिएसन र पर्वतारोहण संघ लगायत निजी क्षेत्रसँग पनि छलफल भएको जानकारी दिए।

National Life

गृहमन्त्री लेखकले भने, ‘अहिले हामी पूर्वमनसुनको अवस्थामा छौँ। केही समयपछि मनसुन प्रारम्भ हुन्छ। अहिले प्राधिकरणले निरन्तर रूपले मनसुनको बेलामा हुने विपद्का जोखिम न्यूनीकरण गर्ने र विपद् भए त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा निरन्तर छलफल र तयारी गरिरहेको छ। अहिले निजी क्षेत्रका विभिन्न संस्थाहरू जस्तोः र्‍याफ्टिङ एसोसिएसन छ, पर्यटकका आरोहणको क्षेत्रका छन्। उहाँहरूलाई रेस्क्यु गर्ने ज्ञान, सीप र क्षमता हुन्छ। त्यसकारण सरकारले विभिन्न गैरसरकारी संस्था, निजी क्षेत्र र राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्र जसले जोखिममा विपद्को जोखिमलाई न्यूनीकरण र व्यवस्थापन गर्ने कुरामा सहयोग गर्न सक्नुहुन्छ, उहाँहरूसँग छलफल गरेर सरकार र गैरसरकारी दुवै क्षेत्र मिलेर जोखिम न्यूनीकरण गरौँ। जोखिम भएको अवस्थामा त्यसको उचित व्यवस्थापन गरौँ भन्ने साझा धारणा निर्माण गर्ने तयारी स्वरूप यो बैठक बसेको हो।’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्टले प्राधिकरण अहिले निरन्तर मनसुन प्रतिकार्य योजना बनाउने क्रममा रहेको बताए। उनले हिमाली क्षेत्रमा उद्धारका लागि र डुबानबाट मानवीय क्षति हुन नदिनका लागि र्‍याफ्टिङ एसोसिएसनसँग छलफल गरेको जानकारी दिए। छलफलमा दुवै संस्थाहरूले सहयोगको प्रतिबद्धता जनाएको उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

भट्टले भने, ‘अहिले हामी लगातार मनसुन प्रतिकार्य योजना बनाउने क्रममा छौँ। यसका लागि हामीले विभिन्न बैठक बसिरहेका छौँ। हिमाली उद्धारमा समस्या आउँदा गर्ने कामको बारेमा पर्वतारोहण संघसँग र बोटको अभाव हुन नदिने र जनशक्ति व्यवस्थापन गर्न छलफल गरेका हौँ। उहाँहरूसँग सहकार्य गरौँ भनेर राखिएको हो। उहाँहरूले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। यो वर्ष पहिलाको वर्षभन्दा बढी पानी पर्छ, बढी तातोको अवस्था आउने स्थिति छ। पहिलाको भन्दा राम्रो तयारी गरौँ भनेर लागेका छौँ।’

उनले यस वर्ष गत वर्षको भन्दा पनि बढी वर्षा हुने र बढी गर्मी हुने अनुमान रहेको बताउँदै त्यसैअनुसार पूर्वतयारीमा लागेको उल्लेख गरे। छलफलमा तीनै सुरक्षा निकायका विपद् हेर्ने अङ्गका प्रमुख तथा प्रतिनिधि, सडक विभाग एवं विश्व खाद्य कार्यक्रमका अधिकारीहरूको पनि सहभागिता थियो।

प्रतिकृया