चाबहिल, पुरानो बानेश्वर क्षेत्रमा यी रुट छन् आज बन्द
प्रकाशित मिति
२०८१ फाल्गुन १४ गते, बुधबार ०८:१९
फाल्गुण १४, २०८१ काठमाडौँ: आज महाशिवरात्रिको दिन पशुपति दर्शनका लागि जाँदै जानुहुन्छ वा अन्य कुनै कामले त्यो बाटो हुँदै यात्रा गर्नुपर्ने छ भने सवारी रुटबारे थाहा हुनु जरुरी छ ।
साथै कहाँ सवारी साधन पार्किङ गर्ने भनेर पनि जानकारी राख्नु आवश्यक छ । किनभने अघिल्ला दिनजस्तो आज पशुपतिनाथ मन्दिर वरपर सवारी साधन लैजान पाइँदैन ।
काठमाडौंको पशुपतिनाथ क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ भने पार्किङ गर्ने ठाउँ पनि तोकिदिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेका अनुसार सिनामंगलदेखि गौशाला हुँदै चाबहिलसम्मको चक्रपथ क्षेत्रमा सवारीसाधन प्रवेश निषेध गरिएको छ ।
यसैगरी पुरानो बानेश्वर, भीमसेनगोला, सिनामंगल हुँदै तिलगंगासम्मको बाटोबाट सवारी प्रवेश निषेध गरिएको छ । धोबीखोलातर्फ रातोपुल, कालोपुल, सिफल लगायतका क्षेत्रबाट पनि पशुपतितर्फ जाने सवारीसाधनलाई प्रतिबन्ध लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै चाबहिल, गौरीघाट लगायत क्षेत्रबाट पनि सवारीलाई पशुपति क्षेत्रभित्र प्रवेश नदिइने ट्राफिक प्रहरीले जनाएको छ ।
पार्किङ कहाँ गर्ने ?
सिफल चौर, गुह्येश्वरीपारि, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, अमालकोट, तिलगंगा करिडोर र सुरक्षा निकायका सवारीका लागि महानगरीय प्रहरी वृत्त गौशलामा राख्ने व्यवस्था मिलाइएको छ ।
यस्तै दर्शनार्थी एवम् भक्तजनका सवारी साधनको पार्किङ्ग तिलगङ्गा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरीपारि करिडोर सडकमा मिलाइएको छ । वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीका ट्यांकरहरु पार्किङ्ग हुने छन् ।
त्यसैगरी कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनलाई पार्किङको व्यवस्था मिलाइएको छ ।






प्रतिकृया