अन्तर्वार्ता : आर्थिक विषय वस्तुमा जानकारी दिन दि इकनोमिस्ट सर्कलु निर्देशक शर्मा
प्रकाशित मिति
२०८१ फाल्गुन ९ गते, शुक्रबार ०१:०२
फाल्गुण ९, २०८१ काठमाडौँ: नेपालमा आर्थिक र वित्तीय ज्ञान अझै सीमित वर्गमा मात्र सीमित छ। यस्ता महत्वपूर्ण विषयलाई जनस्तरसम्म पुर्याउन काम गरिरहेको संस्था हो ‘दि इकनोमिस्ट सर्कल’। आर्थिक सचेतना फैलाउने उद्देश्यले स्थापना गरिएको यस संस्थाले प्रशिक्षण, सेमिनार र वित्तीय शिक्षा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संस्थाका संस्थापक तथा निर्देशक सुरेश शर्मासँग गरिएको कुराकानीमा उनले संस्था, यसको उद्देश्य, काम र आगामी योजनाबारे जानकारी :
‘दि इकनोमिस्ट सर्कल’ के हो ?

दि इकनोमिस्ट सर्कल आर्थिक र वित्तीय शिक्षा दिने एउटा समूह हो। यहाँ अर्थशस्त्री, चार्टर्ड एकाउन्टेन्ट, र वित्तीय सल्लाहकारहरू मिलेर काम गर्छन्। हाम्रो उद्देश्य भनेको आम जनतालाई आर्थिक कुरा बुझ्न सजिलो बनाउनु र दैनिक जीवनमा काम लाग्ने आर्थिक शिक्षा दिनु हो । यो सेवा केवल पेशेवरहरूको लागि मात्र नभई, सबैका लागि आर्थिक र वित्तीय शिक्षा दिन स्थापना गरिएको हो।

दि इकनोमिस्ट सर्कलले के के कार्यक्रम गर्छ ?
हामीले विभिन्न आर्थिक र वित्तीय शिक्षा जागरूकता कार्यक्रम, कार्यशाला र सेमिनार गर्छौं। व्यक्तिगत पैसा व्यवस्थापन, करको जानकारी, सानो व्यवसाय गर्ने तरिका, आर्थिक नीति र डिजिटल उपकरणहरूको बारेमा सिकाउँछौं। विद्यार्थी, व्यवसायी र सर्वसाधारण सबैलाई लक्षित गर्छौं। साथै राष्ट्रिय आर्थिक विषयमा छलफल र प्यानल पनि गर्छौं जसले सबैलाई जागरुक बनाउँछ।
दि इकनोमिस्ट सर्कल कसरी चलेको छ र को–को सदस्य छन् ?
हाम्रो टिममा अनुभवी चार्टर्ड एकाउन्टेन्ट, वरिष्ठ अर्थशास्त्री र वित्तीय विशेषज्ञ छन्। यसले हामीलाई व्यवहारिक र सैद्धान्तिक ज्ञान दुवै दिने मौका दिन्छ। सबैले लेखा परीक्षण, कर, वित्त योजना, सार्वजनिक नीति र विकास अर्थशास्त्रमा काम गर्छन्।
दि इकनोमिस्ट सर्कलको नाममा हामी तीन व्यावसायिक कम्पनी पनि चलाउँछौं :
एस सुरेश एन्ड एसोसिएट्स – लेखा परीक्षण गर्ने कम्पनी
प्रोफेशनल एज ग्लोबल प्रा. लि. – लेखा र कर सल्लाह दिने कम्पनी
एभरेस्ट क्लेम्स एन्ड एडभाइजरि प्रा. लि. – बीमा र मूल्यांकन सेवा दिने कम्पनी
यी सबै कम्पनीहरू आफ्नै काम गर्छन् र नाफा कमाउन खोज्छन्। तर, यी कम्पनीहरूले दि इकनोमिस्ट सर्कलसँग मिलेर प्रशिक्षण र जानकारी दिन सहयोग गर्छन्। यसरी, हामीले व्यावसायिक काम र सामाजिक काम छुट्याएर दुवै राम्रोसँग चलाउन सक्छौं।
दि इकनोमिस्ट सर्कलले के कस्तो काम गरेको छ ?
अहिले सम्म हामीले धेरै लेखा र वित्त पेशेवरलाई कर, रिपोर्टिङ र डिजिटल लेखा प्रणालीबारे जानकारी दिएका छौं। नेपालभरि धेरै कलेजमा कार्यशाला गरेर विद्यार्थीलाई सहयोग गरेका छौं। साना व्यवसायीहरूलाई आर्थिक हिसाब किताब राख्न र राम्रो निर्णय लिन सिकाएका छौं। हाम्रो काम धेरै व्यावहारिक छ र सबैका लागि उपयोगी छ।
तपाईँका कम्पनीहरू र दि इकनोमिस्ट सर्कलबीच के सहकार्य छ ?
हाम्रा कम्पनीहरू स्वतन्त्र छन् तर दि इकनोमिस्ट सर्कललाई प्राविधिक सहयोग, प्रशिक्षण र जागरुकता कार्यक्रममा साथ दिन्छन्। यसले व्यावसायिक अनुभवलाई सामाजिक काममा प्रयोग गर्न मद्दत गर्छ।
आगामी योजना के के छन् ?
हामी अनलाइन सिकाइ प्लेटफर्म खोल्न लागेका छौं जसले गाउँ–सहर सबै ठाउँमा पुग्नेछ। हाम्रो वेबसाइटबाट त्रैमासिक आर्थिक बुलेटिन र अनुसन्धानपत्र पनि निकाल्ने योजना छ जसले नीति र जनतालाई सहयोग गर्नेछ। लामो समयमा विश्वविद्यालय र सरकारी निकायसँग मिलेर आर्थिक शिक्षा पाठ्यक्रममा राख्ने सोच छ।
आर्थिक जानकारी लिको लागि के सन्देश दिन चाहनुहुन्छ ?
अर्थशास्त्र त केवल अंक र नीति मात्र होइन। यो हाम्रा दैनिक जीवनका निर्णयहरूसँग जोडिएको विषय हो। विद्यार्थी होस्, व्यवसायी होस् या पेशेवर, आर्थिक कुरा बुझेर राम्रो निर्णय गर्नुपर्छ। दि इकनोमिस्ट सर्कलले यस्तो सजग, जिम्मेवार र सशक्त समाज बनाउन काम गरिरहेको छ। सबैलाई यस यात्रामा साथ दिन अनुरोध गर्दछु।




प्रतिकृया