• 12:44 pm

हस्तकला क्षेत्र सरकारको सँधै प्राथमिकता रहन्छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०८१ पुष २६ गते, शुक्रबार ०३:५३

पुष २६, २०८१ ललितपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्रलाई सरकारको सँधै प्राथमिकतामा राखिने बताएका छन्।

नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हस्तकला क्षेत्र रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मनिर्भरता, र निर्यात प्रवर्द्धनमा महत्त्वपूर्ण रहेको भन्दै सरकार यस क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रधानमन्त्री ओलीले नेपाल कला र संस्कृतिमा धनी देश भएको उल्लेख गर्दै हस्तकलाको क्षेत्र कहिल्यै विस्थापित नहुने बताए। उनले बजारका सामानभन्दा आफैंले मेहनत गरेर उत्पादन गरिएका सामग्री प्रयोग गर्न सबैलाई प्रेरित गरे।

“हाम्रो देश कलाका लागि प्रसिद्ध छ। यहाँका कला र विशेषता अनमोल छन्। हस्तकलामा हाम्रो संस्कृति र पहिचान झल्किन्छ,” प्रधानमन्त्री ओलीले भने, “महिलाको रोजगारी, सीप विकास, र सामाजिक उत्थानमा हस्तकलाले महत्त्वपूर्ण योगदान दिएको छ। यस क्षेत्रबाट उत्पादित सामग्रीको निर्यात प्रवर्द्धन गर्न सबै लाग्नुपर्छ। यसका विभिन्न पक्षको विकासका लागि महासङ्घसँग छलफल गरेर आवश्यक कदम चालिनेछ।”

महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने सरकारको निर्देशिकाको स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए। उनले निर्यात प्रवर्द्धन र सहजीकरणका लागि सरकारलाई विभिन्न सुझाव पनि प्रस्तुत गरे।

हस्तकला क्षेत्रले हाल प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ११ लाख रोजगारी सिर्जना गरेको छ। यो क्षेत्रबाट वार्षिक झन्डै ११ अर्ब रुपैयाँ बराबरको सामग्री निर्यात हुने तथा यति नै मूल्यको आन्तरिक कारोबार हुने बताइएको छ।

उक्त कार्यक्रममा उत्कृष्ट निर्यातकर्ता र योगदानकर्ताहरूलाई सम्मान गरिएको थियो।

प्रतिकृया